इथियोपियामा खान नपाएर १३ बालबालिकाको मृत्यु

एडिस अवावा । निरन्तर खडेरी र द्वन्द्वको मारमा परेको दक्षिणी इथियोपियामा कम्तीमा १३ जना बालबालिकाको भोकमरीकै कारण मृत्यु भएको स्थानीय निकायले जनाएको छ ।

कोन्सो जिल्लाको एकजना सरकारी अधिकारीले यस घटनाको औपचरिक पुष्टि गरेका छन् । उनले लगातार बाली असफल भएपछि थुप्रै मानिस आफ्ना घर र खेतबारीबाट टाढिन बाध्य भएको बताएका छन् ।

उनले सो जिल्लामा कुपोषणको शिकार भएका बालबालिकाको संख्या बढिरहेको बताएका छन् । कुपोषित मध्ये २४० जना भन्दा बढी बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ ।

सरकारको राहत निकायले भोकमरीग्रस्त क्षेत्रहरूमा आवश्यक राहत सामग्री उपलब्ध गराउँदै गरेका बीबीसीलाई जानकारी दिएको छ । दातृ निकायहरूले अफ्रिकाको हर्न क्षेत्रमा पाँच वर्ष मुनिका सत्तरी लाख बालबालिका चरम कुपोषणको शिकार भएको बताएका छन् ।

दक्षिणी इथियोपिया गम्भीर रूपमा खेडेरीग्रस्त क्षेत्रहरूमध्ये एक मानिन्छ । त्यहाँका कम्तीमा एक करोड असी लाख मानिसले पेट भरी गरी खान पाएका छैनन् ।

बीबीसीबाट ।