‘काली’ ले चुरोट पिएको पोस्टर सार्वजनिक गरेपछि हिन्दू धर्मावलम्बीहरूले जनाए विरोध

काठमाडौं । चलचित्र निर्देशक लीना मणिमेकले आफू निर्देशित डकुमेन्ट्री फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् । अध्ययनका क्रममा क्यानडामा रहेकी फिल्म निर्माता एवं कवि मणिमेकले शनिबार देवी कालीले चुरोट पिएको पोस्टर ट्विटरमा सार्वजनिक गरेकी थिइन् । उनका अनुसार यो फिल्म ‘परफर्मेन्स डकुमेन्ट्री’ हो । यसले हिन्दू धर्मावलम्बीहरूको भावनमाथि चोट पुगेको भन्दै क्यानडाको ओटावास्थित भारतीय उच्च आयोगले विरोध जनाउँदै विज्ञप्तिसमेत सार्वजनिक गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै भारतीय उच्च आयोगले क्यानडामा बसोबास गर्दै आएका हिन्दूवादी नेताहरूले फिल्मको उक्त पोस्टरले हिन्दू धर्मावलम्बीको भावनामाथि आँच पुर्‍याएको भन्दै उजुरी गरेपछि हिंसा भड्काउने किसिमका यस्ता सामग्रीहरू हटाउन आग्रह गरेको हो । क्यानडामा मात्रै नभएर भारतमा पनि यो विषयलाई लिएर विरोध भइरहेको छ ।

उक्त विवादास्पद पोस्टर हटाउने विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराइसकिएको आयोगलाई उद्धृत गर्दै द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । पोस्टरमा कालीको एक हातमा लैंगिक अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्ने प्राइड फ्ल्याग बोकेको बनाइएको छ भने अर्को हातमा त्रिशूल बोकेको बनाइएको छ । यसैगरी अर्को हातले उनले चुरोट पिउँदै गरेको देखाइएको छ ।

उक्त विवादास्पद पोस्टर सार्वजनिक गर्नासाथ ट्विटरमा उनीविरुद्ध ट्रेन्डिङ सुरु भएको थियो । उनलाई गिरफ्तार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत हिन्दू धर्मावलम्बीहरूले आवाजसमेत उठाइरहेका छन् । निर्देशक मणिमेक अहिले क्यानडामा आफ्नो अध्ययन पूरा गर्ने क्रममा छिन् । बीबीसीसँगको कुराकानीमा उनले आफूले निर्देशन गर्न लागेको फिल्ममा देखाइएको कालीको रुपलाई ‘मानवताको स्वरुप र विविधताको सम्मान गर्ने’ किसिमको बनाइएको दाबी गरेकी छन् । ‘एक कवि र फिल्म निर्माता भएको नाताले म आफ्नो स्वतन्त्र रुपमा कालीलाई देख्ने गर्छु‚’ उनले भनेकी छन् ।

भारतीय नेताहरूले पनि हिन्दू देवीले चुरोट पिएको देखाइनु हिन्दुत्वको अपमान भएको भन्दै यस्तो पोस्टर बनाउने र सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरिरहेका छन् । भारतीय जनता पार्टी ९भाजपा०का प्रवक्ता विनीत गोयनले यो पोस्टरले विश्वभर छरिएर रहेका भारतीयको भावनामाथि चोट पुगेको भन्दै सामाजिक सञ्जालबाट उक्त पोस्टर हटाउनका लागि अनुरोध गरेका छन् ।

उक्त पोस्टर हिन्दूमाथि अपमान गर्ने मनसायले सार्वजनिक गरिएको भन्दै भारतको राजधानी नयाँदिल्लीका एक वकिलले फिल्म निर्देशक मणिमेकविरुद्ध प्रहरीमा उजुरी दिएको बताएका छन् ।

दक्षिण भारतीय मणिमेक हाल क्यानडास्थित टोरोन्टोमा रहेर बहुसंस्कृतिवादसम्बन्धी अध्ययन गरिरहेकी छन् । आफूमा कालीको रुपमा देख्ने भन्दै उनले कालीको जस्तै भेष बनाएर क्यानडाका गल्ली(गल्ली डुल्ने गरेको बताएकी छन् ।

उनी भन्छिन्‚ ‘मेरो फिल्ममा कालीले मेरो आत्मालाई रोज्छिन् । त्यसपछि उनी एक हातमा प्राइड फ्ल्याग र अर्को हातमा क्यामोरा बोकेर देशका रैथाने अफ्रिकी‚ एसियाली‚ फारसी मूलका मानिसहरूसँग भेट्छिन् । क्यानडाजस्तो सानो दुनियामा बस्दै आएका यहूदी‚ ईसाई‚ मुस्लिम धर्मावलम्बीहरूसँग पनि उनको भेट हुन्छ ।’