मासिक ४ लाख तलब दिने गरी १० हजार नेपाली कामदार लैजान बेलायत तयार

काठमाडौं । बेलायतले मासिक करिब ४ लाख तलब दिने गरी नेपालीहरुका लागि रोजगारी दिने भएको छ । सरकारले बेलायतमा नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको हो । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी गराउनुभयो । उहाँका अनुसार बेलायतमा नर्सलाई पठाउन लागिएको छ । साथै, मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठसँग सांसदहरुले श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार–सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।