भट्टराईलाई ‘ठेगान’ लगाउने यादवको तयारी

जनता समाजवादी पार्टीका कार्याकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव अन्ततः संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई कारबाही गर्ने निष्कर्षमा पुगेका छन्। भट्टराईलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने तयारी भएको हो।

पार्टीको विवादमा रक्षात्मक अवस्थामा रहेका अध्यक्ष यादव केही दिनयता आक्रामक अवस्थामा पुगेका छन्। भट्टराईलाई पार्टीबाटै निकाल्ने तयारी यादव पक्षको छ। कार्यकारिणी समितिमा आफू बहुमतमा पुगे पछि यादव बढेका हुन्। अब भट्टराई र यादव एउटै पार्टीमा बस्ने अवस्था नरहेको जसपाका नेताहरू बताउछन्। भट्टराई पक्षले पनि छुट्टै रणनीति बनाएको छ।

सोमबार साँझ यादवले आफूनिकट कार्यकारिणी सदस्यहरूको बैठक बोलाएका थिए। उक्त बैठकबारेमा भट्टराई पक्षका कार्यकारिणी सदस्यहरूलाई जानकारी गराइएको थिएन। बैठकमा यादवले दुइ वटा निर्णय गराए। सरकारमा नयाँ टिम पठाउने विषयमा निर्णय लिन र नयाँ सूचि तयार गर्ने अधिकार यादवलाइ दिइयो।

यसैगरी पार्टीहित विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने अधिकार पनि यादवलाई यादवलाई दिइयो। यी दुईवटै निर्णय भट्टराई पक्षकोलागि खतरनाक सावित हुने निश्चित छ। पहिलो निर्णयबाट अब सरकारमा यादव पक्षीय नेताहरू मात्र जानेछन्। भट्टराई पक्षबाट एकजना पनि सरकारमा जान पाउने छैनन्। दोस्रो निर्णयबाट पार्टी हितविपरीत काम गरेको भन्दै यादवले भट्टराईलाई कारबाही गर्न पाउनेछन्।

भट्टराईलाई कारबाही गर्नकै लागि यादवले दोस्रो निर्णय गराएका हुन्। यादवनिकट स्रोतका अनुसार पहिलो चरणमा भट्टराई र महेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ। भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानललाई लिएर यादव पक्षले स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बाहिर मिडियामा जसरी आएको छ, यसलाई आधार मानेर स्पष्टीकरण सोध्ने तयारी भएको यादवनिकट एक कार्यकारिणी सदस्यले बताए।

उनका अनुसार दुईपटक स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै पार्टीबाट निकाल्ने तयारी भएको छ। जसरी एक वर्षअघि जसपाभित्र यादव पक्ष र महन्थ ठाकुर पक्षले एक अर्कोलाई स्पष्टीकरण सोध्ने र पार्टीबाट निकाल्ने काम भएको थियो। भट्टराईलाई महेन्द्र यादव, राजकिशोर यादव, गंगानारायण श्रेष्ठ, डम्मर खतिवडा, प्रशान्त सिंहलयातका नेताहरूले सक्रिय साथ दिएका छन्।

यादव निकट नेता कार्यकारिणी समितिमा सदस्य मृगेन्द्र सिंह यादवले सोमबारको बैठकले जायज निर्णय गरेको बताए। ‘पार्टी हितविपरीत लागेको थाहा हुँदाहुँदै पार्टीको कार्यकारिणी अध्यक्ष चुप लागेर बस्न मिल्छ?,’ उनले भने, ‘पार्टी हितविपरीत लागेको प्रमाण पुग्नेबित्तिकै जो कोहीलाई पनि कारबाही हुन्छ।’ भट्टराई पक्षले हस्ताक्षर संकलन सुरु गरेको भए त्यो पार्टीहितविपरीत हुने उनको भनाइ छ। ‘अहिलेसम्म मिडियाबाट मात्र हस्ताक्षर संकलन भएको थाहा पाएका छौं। तर हस्ताक्षर संकलन गरिएको प्रमाण भेटियो भने अध्यक्षज्यूले कारबाही गर्नु हुन्छ,’ मृगेन्द्रले भने।

यता भट्टराइ पक्ष सोमबार बसेको बैठक नै अवैधानिक भएको दावी गर्छ। आफू निकट व्यक्तिहरूलाई मात्र बोलाइएको बैठक पार्टीको बैठक हुन नसक्ने उनीहरूको भनाइ छ। ‘आफू निकट व्यक्तिहरूलाई बोलाएर पार्टीको बैठक भनेर जसरी भनिएको छ यो एकदमै अराजनीतिक कुरा हो,’ भट्टराईनिकट कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने,म पनि कार्यकारिणी सदस्य हुँ। बैठकमा मलाई बोलाइएन।’

यसैगरी अर्की कार्यकारिणी सदस्य अमृता अग्रहरीले सोमबार बैठक बस्यो भनेर गरिएको प्रचार यथार्थ नभएको बताइन्। ‘म पनि कार्यकारिणी सदस्य हुँ। कार्यकारिणी सदस्यलाई जानकारी नगराई कसरी बैठक बस्छ ?,’ उनले भनिन्। स्रोतका अनुसार ३४ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा १९ जना खुलेका छन्। सोमबारको बैठकको माइन्युटिङमा १९ जनाको हस्ताक्षर छ। ३४ जनामध्ये एकजना रेशम चौधरी पार्टीमै छन या छैनन, अन्यौल छ।

‘यो भनेको स्पष्ट बहुमत हो’यादव निकट अर्का एक नेताले भने, ‘स्पष्ट बहुमत पुगेपछि मात्र उहाँ (यादव) अघि बढ्नु भएको हो,’ भट्टराई निकट एक नेताले भने,‘मन्त्री हुने आकाक्षांले अहिले केही साथी खुल्नु भएको छैन। केही साथ उतातीर लाग्नु भएको छ। मन्त्री फेर्नेबित्तिकै यादव पक्ष बहुमतमा पुग्दैन। किनभने सरकारमा ४ जना जान्छन्। सरकारमा जान नपाएकहरू कम्तीमा १२ जना यादवको विपक्षमा र हाम्रो पक्षमा उभिन्छन्।’

यो कुरा उपेन्द्र यादवले पनि राम्रोसँग बुझेका छन। त्यसैले उनलै एकैपटक २ वटा निर्णय गराए। मन्त्रीको सूची फेर्ने निर्णयसँगै भट्टराइ पक्षलाई कारबाही गर्ने अर्को निर्णय पनि गराए। यादवनिकट अर्का एक नेताले भने, ‘मन्त्रीको सूची फेर्नुअघि नै बहुमतबाट भट्टराई पक्षलाई कारबाही गर्ने अथवा स्पष्टीकरण सोध्ने रणनीति पनि हुन सक्छ।’

यादवनिकट स्रोतका जसपा भित्रको विवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहालको समर्थन यादवतिर छ। यसबाट पनि यादव उत्साहित भएको बताइन्छ। यसैगरी केही समय अघि भट्टराईलाई उचालेको केही नेताले अहिले खेमा परिवर्तन गरेका छन्। अहिले उनीहरूल नै भट्टराइलाई कारबाही गर्न यादवलाई उक्साइरहेका छन्। ती नेतालाई मन्त्री बनाउने आश्वासन यादवले दिएको स्रोतको भनाइ छ।