जाँदाजाँदै श्रममन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारमा जाने बढाएँ, अब रेमिटेन्स पनि बढ्छ’

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जाँदाजाँदै महामारीपछि वैदेशिक रोजगारलाई आफूले पुनःस्थापना गराएको दावी गरेका छन्। राष्ट्रिय सभामा आज बोल्दै उनले कोभिड महामारीले बिथोलिएको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताएका हुन्।

सभामा बिनियोजन विधेयक २०७९ को श्रम मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन्। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो चार बर्ष निरन्तर घटेकोमा यो बर्ष २०७४ सालअघिको अवस्थामा पुगिसकेको बताए।

अघिल्लो बर्ष २ लाखले कमि आएकोमा यो बर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएको उनले बताए। ‘वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकहरुमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमध्ये नेपाल अग्रस्थानमा छ। अब मुलुकको विप्रेषण आप्रवाहमा वृद्धि हुन्छ,’ उनले भने।
त्यस्तै उनले विभिन्न मुलुकमा अलपत्र परेका १हजार १२ जनाको उद्दार गरिएको बताए।

श्रेष्ठले श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाइएको जिकिर गरे।
‘हाल कोरिया, इजरायलसँग सरकारी तवरवाट कामदार पठाइने गरेकोमा बेलायत लगायत अन्य देशहरुसँगसमेत सोही तवरवाट कामदार पठाउने प्रक्रिया अगाडि वढाइएको छ। नयाँ गन्तव्य मुलुकको रुपमा बेलायतसँग पहिलोपटक श्रम समझदारी हुँदैछ,’ उनले भने।

माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धि श्रम सम्झौताको पनि तयारी भइरहेको बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख २१ हजार भन्दा धेरैजना रोजगारी सिर्जना गरिएको दाबी गरे।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेपछि श्रेष्ठ श्रम मन्त्रालयको नेतृत्वबाट बाहिरिएका छन् भने शेरबहादुर कुँवरले जिम्मेवारी पाएका छन्।