जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा

दमौली, १२ असार -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उहाँले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताउनुभयो ।

जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भन्नुभयो, “जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।” महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताउनुभयो । “स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ”, महामन्त्री थापाले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताउनुभयो । कांग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले कांग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गर्नुभयो । “कमजोरी सुधार्न नसक्दा पनि राम्रो सिट जित्न सकेका छौँ, कमजोरी सुधारेर व्यवस्थित ढङ्गले अगाडि जान सक्दा धेरै सिट जित्न सक्छौँ”, पौडेलले भन्नुभयो ।

आजको स्थितिमा कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने पौडेलको भनाइ थियो । “हामी गठबन्धनको विरोधी होइन, तर त्यहाँ जोखिम छ, जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने स्थिति पनि आउन सक्छ”, उहाँले भन्नुभयो । तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्ले, नेता यज्ञ थापालगायतले धारणा राख्नुभएको थियो ।