प्रकाश सुवेदीलाई अन्तर्वार्ता नदिने भनेकी स्वस्तिमा सुवेदीको नयाँ कार्यक्रममा पहिलो गेस्ट !

काठमाडौं । नेपालका चलचित्रकर्मीहरु कहिले कोसित नजिक हुन्छन् र कोसित टाढा हुन्छन् पत्तो नै हुँदैन । आज पानी बाराबार भएकाहरु भोलि गाला जोडेर हिँडिरहेको देखिन्छ । आज एक–अर्काको प्रशंसा गरेर नथाक्नेहरु भोलि एकअर्कालाई सत्तोसराप गरिरहेका भेटिन्छन् ।

नयाँ सन्दर्भ चाहिँ नायिका स्वस्तिमा खड्काको हो । दुई वर्षअघि मात्रै उनी चर्चित रंग पत्रकार प्रकाश सुवेदीसँग नराम्ररी चिढिएकी थिइन् । लकडाउनका बेला स्वस्तिमा आफ्नो श्रीमान निश्चल बस्नेतलाई बुईमा बोकेर हिँडेको भिडियो टिकटकमा आएको थियो । उक्त भिडियोमाथि व्यंग्य गर्दै आफ्नो टीभी कार्यक्रममा सुवेदीले भनेका थिए, ‘नेपाली हिरोइनहरुको काम छैन, बुढो बोक्यो हिँड्यो ।’

सुवेदीको उक्त टिप्पणी भाइरल भयो । यसबाट स्वस्तिमा र निश्चल आहत भए । उनीहरुले सामाजिक सञ्जालबाट नै जवाफ फर्काए ।
स्वस्तिमाले लेखेकी थिइन्, ‘बरु बुढा बोकेर हिँडिन्छ । तर, जति फोन गरे पनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न ! फाेन नउठाएर सारै रिसाउनुभएकाे रहेछ । सरी ल ।’

निश्चलले पनि साेही भावकाे स्टाटस लेखेका थिए, ‘बरु बुढा बोकेर हिँडिन्छ । तर, जति फोन गरे पनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न ल ! भन्छे मेरी बुढी त ।’

त्यसयता स्वस्तिमा र निश्चलको सुवेदीसँग पानी बाराबारकै जस्तो अवस्था थियो । सुवेदीको कार्यक्रममा स्वस्तिमा अन्तर्वार्ता दिन गइनन् पनि । तर, गत महिनाबाट उनीहरुको सम्बन्धमा ट्वीस्ट आयो, जब सुवेदीले पुरानो तिक्तता भुल्दै स्वस्तिमा दम्पतीलाई नै आफ्नी छोरीको विवाह पार्टीमा निम्तो गरे । स्वस्तिमा र निश्चलले पनि यसलाई सहज रुपमा लिएर सुवेदीको निम्तो स्वीकारे ।

पार्टीमा उनीहरुबीच हल्का घोचपेच नभएको होइन । तर, त्यसबाट उनीहरुबीचको पुरानो तुष चाहिँ मेटियो । त्यसैको नतिजा हुनुपर्छ, स्वस्तिमा सुवेदीको नयाँ कार्यक्रममा अतिथि बन्न राजी भइन् ।

प्रकाश सुवेदीले आफ्नै नामबाट सुरु गरेको नयाँ टेलिभिजन कार्यक्रममा स्वस्तिमा पहिलो अतिथिका रुपमा सहभागी भएकी हुन् । स्वस्तिमालाई आफू अभिनित चलचित्र ‘चिसो मान्छे’ को प्रमोसन पनि गर्नु थियो । उक्त अन्तर्वार्तामा पुरानो सन्दर्भमा पनि उनीहरुले खुलेर कुराकानी गरेका थिए ।

स्वस्तिमाले सुवेदीसँग आफू रिसाउनुको कारण खोल्दै भनिन्, ‘मलाई तपाईंको कमेन्टसँग रिस उठेको होइन । तपाईंले मलाई अन्तर्वार्ताका लागि फोन गर्नुभएको थियो । तर, म विशेष कारणले आउन पाएको थिइनँ । त्यसको लगत्तै तपाईंले त्यस्तो कमेन्ट गरेकाले मेरो चित्त दुखेको हो ।’

सुवेदीले चाहिँ आफूले राम्रै ढंगले उक्त कमेन्ट गरेको जिकिर गरे । पहिले व्यस्त हुने कलाकार अहिले यस्तो फुर्सदिला भएका छन् भनेर जनाउन आफूले त्यस्तो कमेन्ट गरेको उनको प्रस्टीकरण थियो । सुवेदीले आफ्नो पुरानो कार्यक्रममा अन्तर्वार्ता दिन नआएको भन्दै स्वस्तिमाको फेस सेभिङ गरिदिए ।

जे होस्, हालकी नम्बर वान नायिका र कहलिएका सञ्चारकर्मीबीच ‘प्याच अप’ भएको छ । आखिर सञ्चार जगत र कलाकारिताबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । रंग पत्रकारका लागि कलाकार र कलाकारका लागि रंग पत्रकार अपरिहार्य नै हुन्छ । यसर्थ स्थायी वैरभाव नराखेकै राम्रो ।