सीधा कुरा नै गर्छु तर प्रधानमन्त्रीका रूपमा : रवि लामिछाने

काठमाडौं । बिहीबार ग्यालेक्सी फोरके को मुख्य स्टुडियोमा सन्नाटा थियो । कार्यकारी अध्यक्ष जीबी राई घरी स्टुडियाको सिलिङमा राखिएको प्रकाश हेर्थे, घरी सँगै बसेका टीकाराम राई ।

पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका टीकाराम जीबीका सल्लाह, सुझावदाता पनि हुन् । त्यसो त, स्टुडियाको कुनाको एकै लहरमा बसेका प्रधानसम्पादक प्रशान्त अर्यालतिर पनि उनको आँखा नपर्ने होइन ।

जीबी राईले २०६८ मै टेलिभिजन खोल्ने सपनाको बीज हुर्काइसकेका थिए । भ्रूणको रूप भने रवि लामिछानेले न्युज ट्वान्टी फोर छाडेपछि बन्यो ।

न्युज ट्वान्टी फोरबाट अपमानित ढङ्गले बहिर्गमित हुनुपरे पछि टेलिभिजनमै फर्कने इच्छाले डोर्‍याएर जीबीसँग जोडाएको थियो रविलाई । जुन जीबीले चुनावी नतिजा आइसकेपछि कम्पनीले दिएको ‘सक्सेस पार्टी’मा बताएका पनि थिए ।

टेलिभिजन प्रशारण भएको ८ महिनामा नै आबद्धता टुङ्ग्याउँदा जीबीलाई पीडाबोध हुनु स्वाभाविकै थियो । सीधा कुराकै क्रेजले टेलिभिजन अनएयर हुने अवस्था बनेको थियो । सीधा कुराको आकर्षणको केन्द्र नै बाहिरिने भएपछि त्यसको पीडा उनको आँखामा लुक्न सकेको थिएन ।

ग्यालेक्सीलाई छिटो भयो तर रविलाई ढिलो हुन सक्छ

म्याराथन अन्तर्वार्ताबाट सञ्चारकर्ममा फर्किएका रविका आलोचक र प्रशंसक दुवै बराबर छन् । न्युज ट्वान्टी फोर छँदै उनी विवादमा तानिए । वैदेशिक रोजगारीमा गएका र दुःख पाएकादेखि स्वदेशमै आँसुमा रुमलिन अभिशप्त उनका प्रशसंक हुन् । तर, एउटा वर्गले उनलाई अझै पत्रकार मान्दैन ।

उनलाई पत्रकार नमान्ने पंक्तिलाई पनि टेलिभिजनमै जोड्न प्रशान्त अर्याललाई प्रधानसम्पादकका रूपमा भित्र्याइएको हो । अर्याल ग्यालेक्सी भित्रँदा त्यहाँ एक प्रकारको विद्रोह नै भयो । त्यही कारण सम्पादक प्रमोद न्यौपानेले तीन महिनामै आबद्धता टुङ्ग्याए ।

अचानक रवि किन ग्यालेक्सी छाड्दैछन् भन्ने कौतूहलता त्यहाँका टेलिभिजनकर्मीलाई थियो ।

भनिरहनुपरेन, टेलिभिजन क्षेत्रमा सबैभन्दा बढी सेवा सुविधा दिएर पत्रकार भित्र्याउने ग्यालेक्सी फोर के नै हो ।

तर, आशातिर प्रगति छैन । एकाध कार्यक्रम, सीधा कुरा र न्युज आवरले राम्रो छाप छाडेका त छन् तर, औसतभन्दा माथि उठ्न सकेका छैनन् । विजय कुमारले आफ्नो शो टुङ्ग्याइसकेका छन् भने लालमोहरको अवस्था पनि न्युज आवरकै जस्तो हो ।

टेलिभिजनले लय नसमात्दै रवि किन निस्कन पाए भन्ने उत्तर जीबी राईले आफैँ दिए । बालेन शाह काठमाडौंको मेयर बनेपछि रवि हौसिएका थिए । उनले सहकर्मीलाई भन्ने गर्थे— “लौ है बेला आयो ।”

तर, त्यो बेला यति छिट्टै आउला भनेर जीबीले पनि सोचेका रहेनछन् । रविले राजनीतिज्ञकै रूपमा सीधा कुरा गर्न चाहेको बताएपछि उनले टीभीलाई छिटो होस् तर उनलाई ढिला नहोस् भनेर बाटो खुला गरेको बताइरहँदा हल स्तब्ध भएको थियो ।

प्रधानमन्त्री नै बन्न चाहन्छु
सञ्चारकर्मीकारूपमा रवि खरो छन् । पीडक तथा बेथितिवाहकहरूका बीच खरै रूपमा प्रस्तुत भइरहनु उनको विशेषता हो । उनले सीधा कुरा प्रधानमन्त्रीसँगबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । रविको उचाइको जग त्यही हो ।

उनले यही कार्यक्रमलाई निरन्तरता दिने तर प्रश्न सोध्नेका रूपमा होइन, उत्तर दिनेकै रूपमा भन्दा हल उत्साहित पनि भएको थियो ।
सञ्चारकर्मीकारूपमा रविलाई जति सहज थियो, राजनीतिज्ञकारूपमा त्यो नरहन सक्छ । उनले त्यो बोध नगरेका

छैनन् । तर, देशव्यापी देखिएको स्वतन्त्रप्रतिको आकर्षणले तानेको राजनीतिले डोर्‍याएर कहाँ पुर्‍याउने हो ? त्यो भविष्यकै गर्भमा छ ।

रवि स्वतन्त्ररूपमा मैदानमा आउने, काठबाहुल्य काठमाडौं—३ बाट प्रतिनिधिसभा चुनाव लड्ने हल्ला राजनीतिक बजारमा र सञ्चारवृत्तमै छ । सञ्चारकर्म छाडेका रविले यसको उत्तर असार ७ गते राष्ट्रियसभा गृहबाट दिने भएका छन् ।