बालेन साहको कदमपछि पत्रकार महासंघले चाल्यो कडा कदम

काठमाडौं । अहिले जनताबाट वाही वाही पाइरहेका र अहोरात्र जनताको सेवामा खटिरहेका नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन साहलाई आज दिउसोको एउटा घटना महङ्गो पर्ने संकेत देखिएको छ ।

समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेको घटना बाहिरिएपछि सञ्चारजगतका विभिन्न तह र तप्काबाट विरोध र निन्दा समेत भइरहेको हो ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अभिष्ट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार संकलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर निकाल्न लगाएको हिमालय टेलिभिजनले जनाएको छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि हिमालय टेलिभिजनका पत्रकार दिउँसो १ बजे त्यहाँ पुगेका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघले त कडा विज्ञप्ति नैनिकालेर पत्रकारलाई मेयर साहले दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको बताएको छ ।

महासंघका महासचिव रोसन पुरीले निकालेको विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै सचेत समेत गराईएको छ ।