स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमाल पार्टीमा लागे

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा बाजी मारेका गोपाल हमाल अमुक दलमा आबद्ध भएका छन् । मेयर हमाल आजका मितिदेखि दलमा आबद्ध भएका हुन् । आफू तटस्थ बस्ने भन्दै आइरहेका हमालले स्वतन्त्र नरहेको एमाले कैलालीले बताएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएका हमाल स्वतन्त्र नरहेको एमालेको भर्ना छ ।

‘उहाँ निर्वाचित भएको एक महिना नपुग्दै उहाँ स्वतन्त्र नरहेको पुष्टि भएको छ’ एमाले कैलालीमा उपाध्यक्ष दुर्गा जोशीले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई भोट दिने अनि स्वतन्त्र हो भन्ने अरूलाई मूर्ख बनाउने कुरा मात्रै हो ।’

जोशी एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदमा लडेका थिए । त्यो बेला पनि हमाल स्वतन्त्र उम्मेदवार भएर उम्मेदवारी दिएका थिए । तर, पराजित भए पछि उनी विवेकशील साझा पार्टीमा जोडिए । उनी त्यसको संयोजक पनि भए । उनी संयोजक रहेकै बेला प्रतिनिधि सभा तथा प्रदेश सभामा उनकै नेतृत्वमा उम्मेदवारहरू उठेका थिए ।

हमालले सुदूरपश्चिम प्रदेशमा नेतृत्व गरेको विवेकशील साझा पार्टीले पनि कुनै उपलब्धि हासिल गर्न सकेन । धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उनले त्यहाँबाट राजीनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिए । हमालले २६ हजार ८६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाए ।

अघिल्लो स्थानीय तहमा हमाल अहिले पराजित भएका वडसँग पराजित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेर पराजित भए पनि वडले पार्टीको चुनाव चिन्ह पाएर लडेको भए पनि आफू स्वतन्त्र उम्मेदवार भएको बताएका थिए । उनले आफूले पार्टीले सहयोग नगरेको बताएका थिए ।

यता एमाले कैलालीले पनि उनी स्वतन्त्र नभएको बताएको हो । वैशाख ३० गते स्वतन्त्र उम्मेदवार भनेर मतदाताले मत दिए पनि अहिले उनी कांग्रेसको उम्मेदवार बनेको एमाले कैलालीका सचिव डेजी पाण्डेयले आरोप लगाए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा आफूहरूले एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दा हमालले स्वतन्त्र रहने बताएको भन्दै सचिव पाण्डेयले भने ‘उहाँले म स्वतन्त्र हु स्वतन्त्र बस्छु भन्नभयो हामीले सम्मान गर्यौ । तर, अन्तिममा कांग्रेसले नेतृत्व गरेको गठबन्धनलाई भोट दिएर आफू कांग्रेस भएको प्रस्ट पार्नु भयो ।’

पाण्डेयले आगामी दिनमा हमाललाई कांग्रेसकै मेयरको रूपमा बुझ्ने समेत बताए । ‘एमालेले उहाँलाई अब स्वतन्त्र उम्मेदवार भन्दैन । उहाँ कांग्रेसको उम्मेदवार भएको प्रस्ट पार्नु भएको छ’ उनले भने ‘आगामी दिनमा उहाँलाई एमालेले त्यस्तै रूपमा बुझ्छ ।’

सोमबार सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा हमालकै निर्णायक मतका कारण प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भए । गोला प्रथामा एक जना सदस्य नागरिक उन्मुक्तिको आए भने अन्य सबै गठबन्धनका उम्मेदवारहरू विजयी भए । कैलालीमा एमाले र नागरिक उन्मुक्तिको मत १२ थिए ।

कांग्रेस, माओवादी र नेकपा एकीकृत सामवादीको मत १३ थियो । मोहन्याल गाउँपालिका अध्यक्षले मतदान गर्न नपाएपछि दुवैको मत समान १२ भयो । त्यो बेला हमालले गठबन्धनलाई मत दिएका थिए । उनकै मतले कैलालीमा गठबन्धनका उम्मेदवारहरूले निर्वाचन जितेका छन् ।

स्वतन्त्र भएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई जिताएपछि उनी स्वतन्त्र नरहेको आरोप लाग्न थालेको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि यस अघि धरान र काठमाडौँ बाहेकका क्षेत्रका स्वतन्त्र जितेकाहरू स्वतन्त्र नरहेको बताएका थिए । हमालले जिल्ला समन्वय समितिको निर्वाचनमा आफू तटस्थ बस्ने भन्दै आइरहेका थिए । यस विषयमा बुझ्न सम्पर्क गर्दा हमालले फोन उठाएनन् ।