ओली प्रचण्ड एक हुँदै माधव नेपाल के गर्लान ?

काठमाडौं : मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन्। स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए।

‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु स्वाभाविक हो। त्यत्रो अवसर हुँदाहुँदै कहाँ चुक्यौं भन्ने विषयमा सामान्य छलफल भयो। कमजोरीमा भूमिका आ–आफ्नै किसिमका होलान् तर कमजोरी भएकै हो भन्ने कुरा भयो,’ श्रेष्ठले भने।

आइतबार साँझ एमाले अध्यक्ष ओलीसँग माओवादीका नेता श्रेष्ठले करिब दुई घन्टा छलफल गरेका थिए। उनीहरूबीच नेपालमा विदेशी चलखेल बढेको, नेपालको राष्ट्रियता खतरामा परेको विषयमा समेत छलफल भएको थियो। ‘देश संकटमा पर्‍यो, नेपालको राष्ट्रियता खतरामा पर्‍यो, परराष्ट्र नीति कमजोर भयो भन्ने विषयमा छलफल भयो,’ नेता श्रेष्ठले भने। उनका अनुसार दुवै दलका साझा सरोकारका विषयमा पनि छलफल चलेको थियो। उनीहरूबीच प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे पनि कुराकानी भएको थियो।

साथै आगामी संघीय संसद्को निर्वाचनमा वामपन्थी दलहरूबीच गठबन्धन गरेर जान सकिने सम्भावनाबारे पनि छलफल भएको थियो। वाम गठबन्धनको पक्षधर रहेका श्रेष्ठले एमाले अध्यक्षसँग भेटघाट गर्नुलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चर्चा गर्नु मात्र नभएर वाम आन्दोलनलाई एकताबद्ध बनाउने सवाल पनि रहेको आकलन गरिएको छ।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए। स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि अहिले सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी दुई दलबीच विश्वासको अभाव भने खड्किएको छ। तथापि श्रेष्ठलगायत नेताहरूले विश्वासको वातावरण बनाउने र चुनावी गठबन्धन गरेर जान सक्ने विषयमा बहस र छलफल अघि सारेका छन्।

स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस निकै उत्साहितभएपछि माओवादी तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई अप्ठेरो परेको छ। स्थानीय निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धन भएको थियो तर पनि एमाले करिब ३० प्रतिशत जित निकाल्न सफल भएको छ।

हाल संसद्मा सबैभन्दा ठुलो दल रहेको एमालेबाटै वाम गठबन्धनको प्रस्ताव आउनुपर्ने भन्दै माओवादीलगायत कम्युनिस्ट घटकहरूले चासो र चिन्ता प्रकट गर्दैगर्दा ती दुई दलका नेताहरू नजिकिन थालेका छन्। ओली र श्रेष्ठबीचको भेटघाटपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुनबीच पनि भेटघाट भएको थियो।

सो भेटघाटमा पनि आगामी संघीय संसद्को निर्वाचनमा वामपन्थीहरूको अवस्था के हुन्छ भन्नेबारे छलफल भएको थियो। त्यसअघि पनि एमाले र माओवादीका नेताहरूबीच अनौपचारिक भेटघाट र छलफलहरू भइरहेकै थिए। ‘जेठ ११ पछिका दिनहरूमा एमाले र मााओवादीका कुनै न कुनै नेताहरूबीच कुराकानी र छलफल भइरहेका छन्, यसले पनि नेताहरूको पछिल्लो भेटघाटलाई सहज बनाएको हो,’ एमालेका एक नेताले भने।

जेठ ११ मा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वाम गठन्धनबारे चर्चा सुरु भएको थियो। ती दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यका साथै वाम गठबन्धनको विषयले चर्चा पाएको थियो। त्यसपछि एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरूबीच वाम गठबन्धनबारे छलफल हुने गरेको थियो।

पाँचदलीय गठबन्धनमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारलाई सोचेजति सहयोग नगरेको विषयमा असन्तुष्टि उत्पन्न भएको थियो। ‘एमालेले वाम गठबन्धनको प्रस्ताव नगर्ने र कांग्रेसले पनि माओवादी केन्द्र तथा नेकपा एसलाई सोचेजति सिट नदिने हो भने सबै दल एक्लाएक्लै निर्वाचनमा जाँदा सबैभन्दा बढी घाटा माओवादी र नेकपा एसलाई हुन्छ।

त्यसकारण माओवादीलाई कांग्रेस वा एमालेसँग गठबन्धन गर्नुपर्ने आवश्यकता छ,’ एमालेका एक नेताको भनाइ छ। एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्थानीय तहमा वाम पार्टीको उपस्थिति र जनमतबारे विश्लेषण गरिरहेका बेला माओवादीका वरिष्ठ नेता श्रेष्ठले ओलीसँग भेटघाट गर्नुलाई सकारात्मक रूपमा लिइएको छ। नागरिक दैनिकमा यो खबर छ ।