प्रचण्डलाई थाहै नदिई नारायणकाजी पुगे बालकोट, ओलीसँग २ घण्टा एक्लाएक्लै भेटवार्ता

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अन्य कोही पनि नेताहरुलाई थाहै नदिई एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

ओली भेट्न श्रेष्ठ आज विहान बालकोट पुगेको खुल्न आएको छ । जहाँ उनले ओलीसँग एक्लाएक्लै करिब २ घण्टा भेटवार्ता गरेको बताईएको छ । स्थानीय तहको निर्वाचनलगत्तै वाम गठबन्धनको चर्चा चलिरहेको बेला श्रेष्ठले ओलीसँग गरेको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

श्रेष्ठले भने समसामयिक विषयमा आफूहरुबीच छलफल भएको बताएका छन् । ओली र श्रेष्ठ दुवै वाम गठबन्धनको भित्री तयारीमा जुटेको पनि बताईन्छ । पछिल्लो समय श्रेष्ठ अध्यक्ष दाहालसँग पनि असन्तुष्ट रहेको बताईन्छ ।