“गोरखामा कांग्रेसले बाबुराम भट्टराईलाई सिट छोड्न सक्दैन”

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले २-४ सिट बढाउने वा घटाउने हिसाबले गठबन्धन गर्नुको कुनै औचित्य पुष्टि नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “पहिलो कुरा दलहरुले कुन औचित्य र आवश्यकताले गठबन्धन बनेको हो भन्ने बुझ्न सकेको देखिँदैन । गठबन्धन केपी शर्मा ओलीको अधिनायकवादी शैली रोक्न बनेको हो कि २-४ सिट बढाउने वा घटाउन लागि ? खालि सिटका लागि गरेको भनेर देखाउने हो भने जनताले महत्त्व दिँदैनन् । गठबन्धनको खासै आवश्यकता पनि छैन । सिटको मात्र कुरा गर्ने हो भने पार्टी छुट्टाछुट्टै खोल्ने अनि एक्लाएक्लै जान किन डराउने ? ४ सिटबाट ६ सिट बढ्दैमा किन ठूलो कुरा गर्ने ? केपी ओली रहँदासम्म प्रतिगमनको खतरा छ भनेर गठबन्धन गर्ने अनि चुनाव जित्न एमालेसँग मिल्ने ?”

उनले गोरखामा बाबुराम भट्टराईलाई कांग्रेसले सिट छोड्न नसक्ने पनि उद्घोष गरे । पाण्डेले भने, “कसलाई कति सिट भन्ने कुरा टेबुलमा बसेर बाँडफाँड गर्ने हो । पार्टीको संगठन र जित्ने अवस्था हेरेर गर्ने हो । जनमत १० प्रतिशत छ, सिट ४० प्रतिशत मागेर कसरी मिल्छ ? तीनवटा वडा जित्ने वा उम्मेदवार नपाउने पार्टीले त्यो क्षेत्र मलाई चाहियो भनेर कांग्रेसले जिताइदिन सक्छ ? गोरखा जिल्लामा नेपाली कांग्रेसले सम्पूर्ण सिट अरु पार्टीलाई छोड्न सक्दैन । प्रदेश र संघमा बराबर हिस्सा हुन्छ । जनमत हामीसँग छ, सधैंभरि काँधमा अर्कालाई बोकेर हिँड्न सकिँदैन ।”

कांग्रेसले त स्थानीय तहको निर्वाचन पहिलो पार्टी बनाइदिएकोमा जनतालाई धन्यवाद समेत दिएन है भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पाण्डेले भने, “केन्द्रीय समितिको बैठक नबसे पनि गाउँ, नगर, जिल्ला कार्यसमितिले दिएकै छन् । पार्टी विधानअनुसार केन्द्रीय समिति बैठक बस्छ । कोषाध्यक्ष, केन्द्रीय सदस्य, विभागमा मनोनयनको आन्तरिक गृहकार्य भइरहेको छ । असारभित्रै सबै काम हुन्छ ।” कोषाध्यक्ष कसलाई बनाउने भन्ने अधिकार पार्टी सभापतिलाई रहेको उनले औंल्याए । साथै मन्त्रीको सम्पत्ति विवरण खुलाउने दायित्व पालना गर्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार किन जानुभएन भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा उनले भने, “यो मुलुकको दुर्भाग्य हो । पहिले पहिले यस्तो हुँदैनथ्यो । पाँचौं पटक प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले केपी ओलीले जस्तै बालुवाटारबाट देश चलाउनुभयो भन्ने कुरा आइरहेको छ । अफिसबाट गर्नुपर्ने काम अफिसबाटै गर्नुपर्छ, निवासबाट गर्नुपर्ने काम निवासबाटै गर्नुपर्छ । कार्यालय यत्तिकै खोलिएको हुँदैन । सबै कुरा निवासबाट हुने भए कार्यालय किन खोलिन्थ्यो र ?”