जी-बब र उनका आमाबुबाले हाले एकअर्काविरूद्ध मुद्दा

आफ्नो छोरा (जी-बब) लाई बन्धक बनाएको भन्दै र्‍याप गायन आयोजक कम्पनी एएनटिएफविरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका आमाबुबाले उजुरी दिएका छन्।

बुबाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनु पर्ने माग गर्दै जी-बबले पनि उजुरी दिएका हुन्। सोमबार उनीहरूको उजुरीमा छलफल हुने बताइएको छ।

जी-बबका बुबाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटिएफले लागुपदार्थ खुवाएर आफ्नो छोरालाई भेट्न समेत नदिएको बताएका छन्।

‘अस्ट्रेलिया गयो, त्यसको हिसाब किताब एएनटिएफले देखाएको छैन। सिक्किमको पनि तपाईंको छोराको खातामा हाल्दिएको छौं भने। तिमीहरू पैसासँग मात्र सरोकार गर्छौ भन्न थाले। सरोकार त हाम्रो बच्चासँग पनि छ, पैसासँग पनि छ,’ उक्त सम्मेलनमा जी-बबकी आमाले भनिन्।

‘जी-बबले जति माग्यो त्यति ड्रग्स दिएर राखेका छन्। उसलाई ड्रग्स दियो भने सित्तैमा काम गर्दिन्छ। उसलाई एएनटिएफले पूरै कब्जा गरेको छ। घर समेत आउन दिइएको छैन। जी-बब पूरै नशामा छ। त्यसैले एएनटिएफले जे भन्यो त्यही मानिरहेको छ,’ जी-बबका बुबाले भने।

जी-बबले भने एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आमाबुबाले पैसा चाहिएर उजुरी गरेका बताएका छन्।

‘म बच्चा होइन, २१ वर्ष भइसकेँ, म सबै बुझ्छु। मलाई पहिला आमाले र्‍याप नहान भन्नुहुन्थ्यो। उहाँहरूसँग सम्बन्ध पनि राम्रो छैन। त्यही भएर मैले स्वतन्त्रता चाहियो भनेर मुद्दा हालेको हुँ। तर मेरो आमालाई पैसा चाहिएको हो,’ उनले भनेका छन्।

एएनटिएफका फाउन्डर निम्साङले जी-बबसँग आम्दानीको ७०-३० प्रतिशतको सहमति भएको बताए। अस्ट्रेलिया टुर, सिक्किम टुर, ए मेरो हजुर-४ फिल्ममा गाएवापत्, सबैको ७० प्रतिशत पैसा जी-बबलाई दिएको उनको दाबी छ।