देउवा ५ औं पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा पर्‍यो : भीम रावल

सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता नै खतरामा परेको बताएका हुन् ।

‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो,’ रावलले भने, ‘यस्तै, सोही समयमा महाकाली सन्धी पनि भयो ।’ यस्तै, दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन् ।

यो गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ,’ रावल प्रश्न गर्छन्, ‘उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत । ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’ उनले थप भने, ‘उहाँ सात पटक प्रधानमन्त्री बन्दा नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’
नेपालको संविधानको धारा ५१ को ‘ड’ द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको रावलको आरोप छ । यस्तै, नेपाली जनताको रक्षा, अखण्डता, असंलग्नता र स्वतन्त्रता लगायतका विषयमा प्रधानमन्त्री कार्यालयको रुची नदेखिएको समेत उनले बताए ।
यी विविध कारणले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेट विनियोजनको आवश्यकता नदेखिएको रावलको भनाइ छ । त्यसैले आगामी वर्षका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का लागि छुट्टयाइएको बजेट कटौती गर्न रावलले आग्रह गरे ।
यस्तै, रावलले नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दा बखत भएको १२ बुँदे व्याख्यात्मक सम्झौता संसदमा पेस नगर्नुको कारण सोधेका छन् । ‘व्याख्यात्मक घोषणामा एमसीसीको सहमतियुक्त पत्र प्राप्त बिना सम्झौता कार्यान्वयन अघि किन बढाएको,’ रावलले सरकारलाई सोधे, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा हुने कार्यसूची के–के हुन् ? यसबारे संसदलाई जानकारी किन नगरिएको हो ?’

यस्तै, प्रधानसेनापतिको अमेरिका भ्रमण र अमेरिकी जर्नेलको नेपाल भ्रमणको औचित्यमाथि समेत रावलले प्रश्न गरे । यी विषयको जवाफ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रावलले बताए । यस्तै, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खनालले नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा विदेश मन्त्रालय नपुगि रक्षा मन्त्रालय (पेन्टागन) पुगेर छलफल गरेको विषय समेत प्रष्ट पारिनुपर्ने रावलको भनाइ छ ।