प्रेम र किसानको मन्त्री पद जोगाउने उपायले माधब नेपाल तनावमा !

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिक निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यान्वयन नगरेपछि फिर्ता बोलाइएका मन्त्रीहरुलाई चिठ्ठा परेजस्तै भएको छ । माधवको एसका सबै मन्त्रीलाई तत्काल फिर्ता नबोलाई नछाड्ने बताउन थालेपछि पार्टीभन्दा पनि शक्तिशाली भनिएका प्रेम आले र कृष्ण श्रेष्ठले सर्प पनि मर्ने र लठ्ठी पनि भाचिनेगरी कमालको आइडिया निकालेका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी आले र श्रेष्ठ लगायतमन्त्रीहरुले प्रधानमन्त्री देउवालाई संघीय र प्रदेशको चुनावको मिति घोषणा गर्न सुझाव दिएका छन्। श्रममन्त्री कृष्ण श्रेष्ठ किसान र पर्यटनमन्त्री प्रेम आले लगायत मन्त्रीहरुले देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणलगत्तै चुनावी मिति घोषणा गर्नुपर्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल हुँदैन। प्रधानमन्त्रीसमक्ष चुनाव छिटो घोषणा गर्न सुझाव दिइएको छ।’

तर तत्कालै भने बजेटमाथि संसदमा छलफल भइरहेको भन्दै मन्त्री फेरबदल गर्न रोकिएको छ। एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।

पार्टीको त्यही निर्णयअनुसार मन्त्री बन्ने चारजनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ। तर, समाजवादीका मन्त्रीहरुकै कारण नयाँ मन्त्रीहरुको शपथ भएको छैन। बुधबार मात्रै मन्त्री हुन तम्तयार समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार नै आफूहरुले शपथ लिने ग्यारेन्टी रहेको बताएका थिए।

प्रधानमन्त्रीले समय मागेपछि शपथ रोकिएको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। मन्त्री पद जोगाउने गरी उनीहरुले चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेका हुन्। स्रोतका अनुसार एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि दबाब छ।

अहिले एकीकृत समाजवादीकै नेताहरुको प्रस्तावमा अन्य पार्टीका मन्त्रीहरुले पनि साथ दिएको स्रोतले जनाएको छ। ‘चुनाव घोषणा भएपछि यो सरकार कामचलाउ भएर अहिलेको मन्त्रिमण्डल पनि कायम रहने भनेर अन्य पार्टीका मन्त्री पनि प्रधानमन्त्रीलाई मिति घोषणा गर्नुपर्ने सुझाउन थालेका छन्,’ स्रोतले थप्यो।

अहिले संसद बैठकमा बजेटमाथि छलफल भइरहेको छ। मन्त्रालयगत छलफल भएकोले बजेटमाथि उठेका मन्त्रालयको प्रश्नको जवाफ दिइरहेकोले मन्त्री फिर्ताको निर्णय केही दिन पर सरेको छ। यही मेसोमा अझै पछि धकेल्ने उनीहरुको योजना छ। बजेट पासलगत्तै पार्टी निर्णय कार्यान्वयन गर्ने एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको प्रस्तावमा बहुमत नेताले जनाएका छन्।

‘अध्यक्षज्यूले बजेटपछि पुराना मन्त्रीहरु फिर्ता गरेर नयाँ पठाउने निर्णय कार्यान्वयन गरौँ भन्नुभयो, बहुमत नेताहरु सहमत हुनुभएको छ,’ एक नेताले भने, ‘पार्टीको निर्णय कार्यान्वयन नहुँदा बाहिर राम्रो सन्देश जाँदैन भन्नेमा सबैको एउटा धारणा छ। बजेट पास लगत्तै मन्त्रीहरु फेरिन्छन्।’

मन्त्री पद जाने भएपछि पाइपलाइनमा रहेका काम धमाधम हुन हुन थालेका छन्। श्रम मन्त्रालय र पर्यटन मन्त्रालयले काम सुरु गर्न लागेको योजनालाई अघि बढाएका छन्। जापान कामदार पठाउने काम अघि बढिसकेको छ। स्रोतका अनुसार सरकारमा रहेका कांग्रेस, माओवादी केन्द्र र जसपाका मन्त्रीहरु पनि ६ महिनाको लागि मन्त्री फेर्न नहुने पक्षमा उभिन थालेका छन्।

मंसिरमा संघ र प्रदेशको दुई चरणमा चुनाव गर्ने तयारी भइसकेको छ। त्यही मिति देखाएर अन्य पार्टीले मन्त्री फेरबदल गर्न नहुने लबिङ गर्न थालेका हुन्। ‘अब कति समय छ र सरकारका मन्त्री परिवर्तन गर्ने रु ,’ एक मन्त्रीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अब चुनावमा केन्द्रित हुनुपर्छ।’