बाबुराम भट्टराईकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने, जित्न सम्भावना यस्तो छ !

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् ।काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ ।

भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको अनलाइनखबरलाई बताइन् ।‘पार्टीभित्र पनि युवा अगाडि आउनुपर्‍यो, व्यवस्थापिकामा उपस्थिति जनाउनु पर्‍यो, अलि तयारी गर्नु पर्‍यो भन्ने सुझाव आयो’ उनले भनिन्, ‘म तयारै छु भन्ने खालको कुरा मैले राखेँ ।

आफ्नो उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेकाले कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने नटुंगिएको उनको भनाइ छ । ‘प्रारम्भिक छलफल भर्खर सुरु भएको छ । साथीहरुले निर्वाचन क्षेत्र नम्बर ५ अथवा ७ भन्नुभएको छ । छलफल गरेर टुंग्याउने कुरा भएको छ’ भट्टराईले भनिन् ।

यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीकी नेता तथा मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएकी थिइन् । तर २०७० सालको संविधानसभामा सोही क्षेत्रमा पराजित भएकी थिइन् ।

त्यसपछि भने हिसिलाले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छैनन् ।मानुषीका बाबु डा. बाबुराम भट्टराई भने २०६४ र २०७४ को निर्र्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भए भने २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

हाल जसपाको केन्द्रीय सदस्य रहेकी मानुषी संसदलाई राजनीतिक संस्कारयुक्त बनाउन आफू चुनाव लड्न चाहेको बताउँछिन् । निर्वाचनमा दलको उम्मेदवार बन्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने प्रश्नमा मानुषीले आफू संगठित राजनीतिमा विश्वास गर्ने बताइन् । ‘म त संगठित राजनीतिमै विश्वास राख्ने मान्छे हुँ,’ उनको भनाइ छ, ‘एक्लै–एक्लै पनि सबै चिज सम्भव हुँदैन ।

सामाजिक न्यायका विषयमा भने पार्टीभित्र र बाहिरका नयाँ पुस्तासँग सकार्य हुने उनको भनाइ छ ।राजनीतिमा पुस्तान्तरण मागेर नहुने भन्दै त्यसका लागि पार्टीभित्रै विद्रोहको आवश्यता रहेको मानुषीले बताइन् । ‘पुस्तान्तरण भन्ने चिज कसैले गरेर हुने होइन,’ उनी भन्छिन्, ‘यसका लागि पार्टीभित्रै विद्रोह हुन्छ ।

म त्यसको पक्षमा हुँ । हामी आफैंले पहल गरेर हुने हो । क्षमता प्रदर्शन गरेर नै हामी लिन सक्ने ठाउँमा पुग्नुपर्छ भनेर नै म तयारीमा लागेको हो ।’हाल सत्तारुढ गठबन्धनमा रहेको जसपाले गठबन्धनभित्र निर्वाचन क्षेत्र भागवण्डामा काठमाडौंको निर्वाचन क्षेत्र नपाए के गर्ने भन्ने प्रश्नमा मानुषी आफू ‘पालो आउला र खाउँला’ भन्ने पक्षमा नरहेको बताउँछिन् ।‘कुनै बेला पालो आउला र खाउँला भन्ने पक्षमा म छैन,’ उनी भन्छिन्, ‘हामी आफैंले मेहनत गर्ने हो ।

हामी आफैंले आह्वान गर्ने हो । जनताका मुद्दामा बोल्ने हो त्यसकै पहलमा जित्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ ।उनले थपिन्, ‘गठबन्धन, आदि, इत्यादि भनेको राजनीतिक दलको शीर्ष तहबाट आवश्यकता महसुस गरेर गर्दै गर्नुहोला । तर, म चाहिँ राजनीतिलाई त्यसरी मात्रै डोर्‍याउनुपर्छ भन्ने पक्षमा छैन ।’