दलबलसहित एमाले छाड्दै घनश्याम भुसाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरि फुटको संघारमा आइपुगको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा घनश्याम भुसालमाथि कारवाही पक्रिया अगाडी बढाइएपछि एमाले फुट्ने सम्भावना बढेर गएको हो । भुसालमाथि कारवाहीको कारण अर्कै रहेको पनि बुझिएको छ ।

नेकपा एमालेको अनुशासन आयोगले कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट । स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए । उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए ।

एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए । भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ । उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ ।

भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको विश्वस्त स्रोतले बताएको छ । योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ । योगेशले साथ दिने या नदिने स्पष्ट छैन । तर, भुसाल अगाडि बढिसकेका छन् ।

कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन् । उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ ।

यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् । तर, ओली टसमस भएका छैनन् ।

ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन् । तर, यो सजिलो देखिएको छैन । ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन् । उनीनिकट रहेकाहरु पनि त्यही रणनीति अनुसार सक्रिय छन् ।