बालेन साह सचेत र सजग बन्दै रफ्तारमा अगाडी बढ्दै , ठुला घोषणा गरे दुई दिनमा

महानगरपालिका मेयर बालेन्द्र साह सचेत र सजग बन्दै रफ्तारमा अगाडी बढेका छन् । पछिल्लो समय हचुवाको भरमा घोषणा गर्ने चेनलाई ब्रेक गर्दै अध्ययन अनुसन्धानका आधारमा दुई दिनमा दुई ठूला घोषणा गरेका हुन् । शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्‍याली कार्यक्रममा बोल्दै मेयर शाहले महानगरमा साइकल लेनबारे अध्ययन गरिने बताएका हुन् ।

स्थानीय तह निर्वाचनअघि साइकल अभियन्ताहरूले मेयरका प्रत्यासी उम्मेदवारहरूलाई साइकल लेन बनाउन पहल गर्नेबारे प्रतिबद्धता जनाएका थिए । तर अभियन्ताहरू शाहसमक्ष नपुगेको भन्दै शाहले व्यंग्य समेत गरेका थिए । सो प्रतिबद्धता पत्र लिएर आफूमाझ पनि आउन शाहले अभियन्तालाई अनुरोध गरेका छन् ।

‘भोलिका दिनमा प्रतिबद्धता पत्रहरू ल्याइदिनु होला। र हामी के गर्न सक्छौँ काठमाडौं महानगरपालिकामा हप्ताको एक दिन साइकल डे बनाउन सक्छौँ कि, साइकलको लागि डेडिकेटेड लेनहरू बनाउन सक्छौँ कि,’ उनले भने, ‘त्यसको लागि अध्ययन गराएर, अध्ययन नभईकन हुँदैन।’

अध्ययन नगरी लेन बनाएमा दुर्घटनाको सम्भावना हुने भन्दै उनले सो कुरा बताएका हुन् । ‘अध्ययन हुनुपर्छ किनभने जुन बाटोमा गाडी हिँड्छ सँगसँगै साइकल हिँडाउन सेक्युरिटी इस्यू हुन्छ। दुर्घटना हुन सक्छ। बाहिरतिर साइकल लेन भनेको छुट्टै हुन्छ। फुटपाथजस्तै हुन्छ। अनि बल्ल सुरक्षित महसुस हुन्छ,’ उनले भने, ‘किनभने साइकलको स्पिड कम हुन्छ। गाडीको स्पिड धेरै हुन्छ, दुर्घटना हुने सम्भावना धेरै हुन्छ।’ प्रतिबद्धता पत्र लिएर आएपछि अध्ययन गरिनेउनले बताएका छन् ।

दोस्रो घोषणाः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन्। ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा ब्युताउन बजेट बिनियोजन गरिने उल्लेख गरेका हुन्।

‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले अगाडि भनेका छन्, ‘यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्। पानीको मुहान सुकेको अवस्था छ, तिनलाई ब्युताउन सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौं।’

उनले काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि भएको भन्दै यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व रहेको औल्याए।उनले काठमाडौंमा सिमेन्ट संरचना निर्माण बढिरहेकाले पानीका मुहान सुक्दै गरेको स्मरण गरे।

‘काठमाडौंमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्। खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ,’ मेयर शाहले अगाडि भनेका छन्, ‘यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंवासीलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ।’