भाषणमा जे भने पनि ओलीको मन त रोएकै छ : दाहाल

काठमाडौँ — स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्षित गर्दै दाहालले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।’

एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो । ‘चैनमा त छैनन् नि एमाले अहिले । एमाले अहिले चैनमा छ त ?,’ उनको प्रश्न थियो । ओलीले स्थानीय तह निर्वाचन प्रचारका क्रममा ‘माओवादी वैशाख ३० गतेपछि गुगलमा मात्रै भेटिने’ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा विजयी नेता र कार्यकर्तालाई भने, ‘अहिले त गुगलमा होइन, पूरा शक्तिका साथ उनीहरूका अगाडि खडा छ माओवादी ।’

कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै दाहालले माओवादीलाई हल्का रूपमा नलिन आग्रह गरे । ‘यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ति भनेर गठबन्धन गरेको हो । कांग्रेसमा अहंकार नआओस् । उसले ‘टेकन फर ग्रान्टेड’ भन्छन् नि, माओवादीलाई हल्का रूपमा लिने कामचाहिँ नगरोस् भन्ने मेरो अनुरोध छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको तर त्यसो नभएको दाहालको भनाइ थियो । ‘अस्ति तपाईंले सुन्नुभयो यतिका धेरै भइसकेपछि त एमालेको मूल नेतृत्वमा चेतना आयो होला, अलिअलि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त ३ घण्टा अरुलाई गाली गरेको छ,’ उनले भने, ‘हामी कसैको वैशाखी टेक्दैनौं माओवादी जस्तो भन्ने ? मैले पनि भन्नै पर्‍यो तिमी कसको वैशाखी टेकेर २ चोटी प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार ऐनामा हेर्न परेन ?’

२०७४ को निर्वाचनमा राष्ट्रिय हित र कम्युनिस्ट आन्दोलनका लागि पार्टी नै एकता गर्दा त्यसको दुरुपयोग भएको दाहालको भनाइ थियो । ‘हामीले बृहत्तर राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलनको हितको निम्ति भनेर केही कुरा गर्छौं अवसरवादीहरूले त्यसलाई दुरुपयोग गरिदिन्छन् । हामीले राष्ट्रको आवश्यकता संविधान लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनाउँछौं तर बुर्जुवाहरूले यसलाई गलत ढंगले लिन्छन्,’ उनले भने, ‘हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्यका साथ गरेको हो । तर, यति धेरै अहंकार आयो त्यसको नेतृत्वमा । सबै हामी नै हो भनेजस्तो गरे । हामी त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो ।’