छोटो अवधिमा हाम्रो पार्टीलाई निकै ठूलो उपलब्धी भयो: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताएका छन् । हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उनले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे ।

निर्वाचित जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्नका लागि सुझाव दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर प्रमुखमा निर्वाचित बनेका हर्क साम्पाङ राई जस्तै बन्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरे ।

अरु पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत छोटो समयमा महत्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले बताए । उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सक्रियतापूर्वक अभियानमा होमिन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।