मुल्य वृद्धि हाम्रो बाध्यता हो, जनतालाई अत्याचार गरेको छैन : निगमका कार्यकारी निर्देशक

काठमाडौं १० जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मुल्य वृद्धि बाध्यता भएको बताएका छन् । पेट्रोलियम पदार्थ स्वदेशमा एक थोपा नहुने भएकाले नेपाल आयल निगमले पनि किनेर ल्याएर बेच्ने भएकाले जनतालाई अत्याचार नगरेको बताएका छन् ।

एक कार्यक्रममा सहभागी भएका उनले पेट्रोलियम पदार्थमा अझै पनि घाटा रहेको भन्दै उनले भनेका छन् , ‘पेट्रोलियम पदार्थ स्वदेशमा एक थोपा पनि नहुने बस्तु हो । नेपाल आयल निगमले पनि किनेर ल्याएर बेच्ने हो । रसिया र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा चर्को मूल्यवृद्धि छ । पेट्रोलियम पदार्थमा अझै पनि परल मूल्यभन्दा पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छ ।’

उनले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा कर घटाउन निगम लाई पत्र बुझाइसकेको पनि जानकारी गराएका छन् ।

इन्धनमा छिटोछिटो मूल्यवृद्धि भएको कुरामा आफु सहमत भएको बताएका उनले जनतालाई राहत दिने कुरामा सरकार कानमा तेल हालेर नबसेको पनि बताएका छन् ।

‘कर घटाउने विषयमा निगमले २०७८ चैत १२ गते नै नेपाल सरकारलाई अनुरोध गरेको छ । यसले सकारात्मक परिणाम ल्याउने आशा छ ।’ उनले अघि भनेका छन् ।

सरकारले निगमलाई व्यापारिक कम्पनीको रुपमा वर्गीकरण गरेको बताएका उनले घाटा घटाउनुपर्ने दबाब रहेको बताएका छन् । यसको एक मात्र उपाय भनेको आफ्नो देशमा उत्पादन नहुने वस्तुको कम खपत गर्नुपर्ने हो ।

‘जोर विजोर, दुई दिन बिदाका उपाय पनि छन् ।’ उनले भनेका छन् ।