भावी उपमेयरलाई बिहेको प्रश्नले हैरानी, के मंसिरमा लगनगाँठो कस्दैछिन् ?

काठमाडौं । काठमाडौंको भावी उपमेयरको दौडमा अगाडि बढेसँगै सुनिता डंगोलका विषयमा जनचासो ह्वात्तै बढेको छ । मिडियाले उनको निजी जीवनका विषयमा पनि निकै खोजीनीति गर्न थालेका छन् । तर, यही क्रममा कतिपय फेक न्यूजहरूले उनलाई दु:ख दिइरहेको छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार हो- सुनिताले मंसिरमा बिहे गर्दैछिन् । केही समाचारमा त उनको भावी श्रीमान्‌को नाम र परिचयसमेत दिइएको छ । उनीहरू रिलेसनसिपमा रहेको र विवाहका लागि चाँजोपाँजो मिलाइरहेको दाबी समाचारमा गरिएको छ ।हामीले उनैलाई सोध्यौँ, ‘मंसिरमा भोज खुवाउन लाग्नुभएको हो ?’

लामो हाँसोसहित सुनिताले जवाफ दिइन्, ‘म त हैरान भइसकेँ जवाफ दिँदादिँदा । मेरो बिहे हुँदैछ भन्ने मैले पनि समाचारमा पढेर थाहा पाएको हुँ । खोइ कहाँबाट, कसलाई सोधेर समाचार लेखिएको हो ?’

सुनितालाई देश-विदेशबाट फोन र म्यासेजमा कैयौंले विवाहबारे सोधिरहेका छन् । परिवारसमेत चकित परेको उनले सुनाइन् ।

‘अस्तिसम्म मंसिर भन्ने थियो रे फेरि जेठमै भन्ने आयो भनेर आफन्तले सुनाइरहेका छन्,’ सुनिताले भनिन् ।

यद्यपि उनको यसमा ठूलो गुनासो भने छैन ।

आफैंलाई सान्त्वना दिँदै भनिन्, ‘यो सबै मप्रतिको माया र सद्भावकै कारण हो जस्तो लाग्छ । नकारात्मकरूपमा लिएकी छैन ।’

उपमेयरको उम्मेदवार बनेदेखि नै फेसबुकदेखि टिकटकसम्म भाइरल बनेकी छिन् सुनिता । काठमाडौंको मतगणनामा अग्रस्थान कायम गरेसँगै उनको लोकप्रियताको ग्राफ उकालो लागेको छ । सामाजिक सञ्जालमा उनलाई निकै सकारात्मक कमेन्टहरू आइरहेका छन् । टिकटकमा कतिपय युवाहरूले उनको सौन्दर्य र मुस्कानको प्रशंसा गर्दै ‘नेसनल क्रस’ संज्ञा दिएका छन् ।

त्यसो त सुनिताको विवाहको उमेर भइसकेको छ । के उनी कसैसँग रिलेसनसिपमा छिन् ? उनका प्रशंसकहरूलाई चासो हुन सक्छ ? यो चासो पनि उनले निवारण गरिदिइन् ।

‘त्यस्तो केही पनि छैन । म अहिले रिलेसनसीपमा होइन इलेक्सनसिपमा नै बिजी छु,’ उनले भनिन् ।