बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने समयसीमा हुनुहुँदैन : राणा

काठमाडौँ — प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेस नेता आरजु राणा देउवाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न आग्रह गरेकी छिन् । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिए जस्तो हुन्छ, त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन,’ उनले भनेकी छिन् ।

राणाले बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने र न्यायको लडाइँ सुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने सक्ने बताएकी छिन् ।
‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने व्यवस्था गरेका छन् । अपराध सबै अपराध नै हुन्,’ राणाले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेकी छिन्, ‘कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बालात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समयसीमा किन ?’

उनले नेपालले पनि अब त्यससम्बन्धी कानुन परिवर्तन गर्दै समय सीमा हटाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्न नहुने बताएकी छिन् । ‘हालै एक जना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले लेखेकी छिन् ।

बिहीबार आठ वर्षअघि भएको एक सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । हदम्यादका कारण आफुले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । ती युवतीसहित बलात्कारीलाई सजाय हुने गरी कानुन संशोधन गर्न माग गर्दै अधिकारकर्मी र युवाहरुले शुक्रबार बिहान बालुवाटारमा प्रदर्शनसमेत गरेका थिए ।