परमादेशी सरकारलाई जनमत बाटै पाखा लगाउँछौं : केपी ओली

काठमाडौं १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाउने बताएका छन् ।

आइतबार हेटौंडा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले परमादेशी सरकारलाई जनमत बाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण दावी गरेका हुन् ।

सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने दावी गरेका ओलीले कांग्रेससँग देश बनाउने नीति नभएको भन्दै जिकिर गरेका ओलीले कांग्रेसले एमालेलाई धारे हात लगाउने मात्र भएको तर्क दिएका छन् ।

‘अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन,हामी सरकारमा भएको बेला चीनतर्फको बाटो खोलिसकेका छौं । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं’ उनले भने ।

वर्तमान सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप लगाएका उनले वर्तमान सरकार देश विकास गर्न नभई देशलाई कंगाल पार्न बनेको बताएका छन् ।