कांग्रेसबाट बागी उठेका मेयरको उम्मेदवारी लास्ट आवरमा फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्ता गठबन्धन भित्र बागी उम्मेदवारी दर्ता गराएका नेताहरुलाई शिर्ष नेताले फिर्ता लिन निर्देशन दिएका छन्। अन्ततः दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

कांग्रेसबाट भएको उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएक थिए। शुक्रबार उम्मेदवारी फिर्ता लिँदै सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरिलाई समर्थन गरेका हुन्। गठबन्धन दलका नेताहरुबीच भएको सहमतिअनुसार तुलसीपुरको मेयर कांग्रेसले पाएको थियो।

कांग्रेसले गेहेन्द्र गिरिलाई तुलसीपुरको उम्मेदवार उठाएको हो। गिरिलाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता लिँदै उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिलाई विजयी गराउन अपिल गरेका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनगरेपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए। पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।