प्रचण्डको एक फोनले गर्यो कमाल, बागीको उम्मेदवारी फिर्ता

काठमाडौं । सत्ता गठबन्धनलाई यतिबेला बागी उम्मेदवारहरुले भयङ्कर ठूलो तनाव दिएको छ । बागीहरुलाई ब्याक गराउन शीर्ष नेताहरु नै हरसम्भव प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्ता गठबन्धन भित्र बागी उम्मेदवारी दर्ता गराएका नेताहरुलाई शिर्ष नेताले फिर्ता लिन निर्देशन दिएका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनगरेपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए।

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ। यस्तै गठबन्धनको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।

‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

गठबन्धनमा कुरा नमिलेपछि सिन्धुपाल्चोक, भोजपुर, धनकुटा र रामेछाप लगायतका केही स्थानीय तहका तालमेल खारेज हुने भएका हुन्।सिन्धुपाल्चोकमा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रले, रामेछापमा पनि एमाले र माओवादी, भोजपुरमा कांग्रेस र एमाले, धनकुटा एमाले र माओवादीबीच तालमेल गरेर जाने सहमति भएको थियो।