डोल्पाका दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध, के दुर्गा प्रसाई अब बृन्दावन जालान ?

सुर्खेत :

मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले केहि समय अगाडी आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए। भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका थिए ।

‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’ उनले भनेको यो भाषण सामाजिक संजालमा निकै भाइरल भयो ।

तर आहिले आएर वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले डोल्पाबाट आफ्ना उम्मेदवार बिजयी भएको जनाएको छ । समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् । उत्ता नेकपा एमालेका नेता शेरबहादुर बुढाले दिएको जानकारी अनुसार छार्का ताङसोङ गाउँ पालिका उपाध्यक्ष कार्मा सिंडुल गुरुङ र दुई वडा अध्यक्ष निर्विरोध निर्वाचित भएको बताएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आफूले पनि सुनेको तर अधिकारिताका लागि बुझ्दै गरेको बताए ।

यो संगै अब कतै जित्यो भने सम्पति नामसारी गरिदिन्छु भन्ने दुर्गा प्रसाइँ बोलीको कति पक्का छ हेर्न बाँकि छ ।