अन्तिम समयमा राजेन्द्र लिङ्देनको बोली नै फेरियो, नेताकार्यकर्ता बने फायर !

चितवन — केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले देशभर स्थानिय चुनावमा कुनै दलसँग तालमेल नगर्ने सार्वजनिक घोषणा गरेका थिए तर त्यसको केही साता नबित्दै चितवनमा राप्रपाले गठबन्धन गरेको छ । चितवन लगायत देशका केही स्थानिय तहमा गठबन्धन गरिएपछि नेताकार्यकर्ताले हलोको फाली भाचिएको भन्दै रोश प्रकट गरिरहेका छन् ।

भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्न पार्टी(राप्रपा) बीच तालेमेलको सहमति भएको छ । महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने गरी दुई पार्टीबीच सहमति भएको हो ।

राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरूङले भरतपुरमा एमालेले मेयरमा उठाएको व्यक्तिलाई राप्रपाले समर्थन गर्ने र उपमेयरमा राप्रपाले उम्मेद्वार उठाउने सहमति भएको जानकारी दिइन् ।

त्यस्तै वडा नम्बर १५ र २६ को वडाध्यक्ष पनि राप्रपाले पाउने भएको छ । ४,११,१६,१९ र २४ नम्बर वडामा दुवै पार्टीका उम्मेद्वार रहने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको गुरूङले बताइन् ।

हाल वाग्मती प्रदेशसभा सदस्य रहेकी गुरूङ ७४ सालको स्थानीय चुनावमा भरतपुरमा राप्रपाबाट उपमेयरमा उठेकी थिइन् । उनको ७ हजार २५२ मत आएको थियो । राप्रपाले त्यो बेला मेयरमा ६ हजार ८४२ मत ल्याएको थियो । राप्रपाले भरतपुरमा उपमेयर कस्लाई उठाउने भन्ने बारेमा निर्णय भने लिइनसकेको गुरूङले बताइन् ।

सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादीकी रेनु दाहाल उठ्ने पक्का भइसकेको छ । त्यस्तै कांग्रेसले उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । अधिकारी महानगर कार्यसमितिका सभापतिसमेत हुन् । भरतपुरको मेयर माओवादीलाई दिएको भन्दै चितवन कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ ।

जिल्लाकै अर्को नगरपालिका माडीमा पनि एमाले राप्रपा तालमेल हुने चर्चा छ । तर माडीका बारेमा केही निर्णय भइनसकेको एमाले चितवनमा उपसचिव प्रकाश ढुंगानाले बताए ।