एमाले बनाउने ५ मध्येका ३ जना एकै ठाउँमा छौं: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरको भागबन्डा गरेर राम्रो सन्देश दिए पनि जिल्लाको रिपोर्ट सुन्दा उत्साहित हुने स्थिति नदेखिएको बताएका छन् । आज नेकपा स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन गरेर देशभर राम्रो सन्देश गएको दाबी गरे ।

उनले केन्द्रको जस्तो गरेर पार्टीले जिल्लामा गठबन्धन गर्न नसकेकोमा गुनासो गरे । उनले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा सहमति गरेका छौं। यसले देशैभर एउटा राम्रो सन्देश दिएको थियो । तर, विभिन्न जिल्लाको रिपोर्ट सुन्दा आशा लाग्दो र उत्साहित हुने स्थिति देखिएको छैन । हामीले भनेका थियौं । देशैभर हाम्रो सन्जाल छ भनेर।’

उनले यसअघि गठबन्धनमा ज–जसले जितेका थिए त्यहाँ उनीहरुले नै नेतृत्व गर्ने भनिए पनि एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो हुने दाबी आफूहरुको रहे पनि त्यो नभएको भन्दै गुनासो गरे । नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर आफूतिर आउन आग्रह समेत गरे । नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह रहेको उनले बताए ।

उनले एमालेका पिताम्बर तिम्सिना लगायतका नेतालाई पार्टीमा स्वागत समेत गरे । उनले भने, ‘नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाह हो, एमाले बनाउने ५ जनामध्येका ३ जना हामी एकै ठाउँमा छौं । त्यो एमाले भन्ने केपी ओली गुटको भविष्य छैन । अझै पनि पैसा र शक्तिको मात छ ।’

पिताम्बर तिम्सिना नेकपा एसमा प्रवेश गरेपछि केपी ओलीको कुर्सीको एउटा खुट्टा भाँचिएको भन्दै नेपालले अर्को खुट्टा पनि बलियो नरहेको र किसान श्रेष्ठ प्रेम आलेहरुले छाडेपछि धर्ममराईसकेको दाबि गरे । जे जस्तै भए पनि अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्नुपर्ने उनले बताए । उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा गठबन्धनका विषयमा केही नेताहरु लचिलो हुन तयार भए पनि केही नेताहरुमा त्यो नदेखिएको बताए।

नेपालले केन्द्र, प्रदेशदेखि जताततै पछारिए पनि एमालेको चेत नखुलेको आरोप समेत लगाए । उनले भने, ‘दम्भ अहंकार अहिले पनि कायमै छ। अहिले पनि मात लागिरहेको नै छ ।’