भरतपुरमा रेनु दाहाल भर्सेस विजय सुवेदी : यस्तो छ अंकगणित

चितवन :

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकाले पाएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले भरतपुरले धेरैको ध्यान तानेको हो। त्यसमा पनि प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा पुनः उम्मेदवार बन्ने भएपछि त्यसप्रतिको चासो अझै बढेको छ। २०७४ सालमा भएको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री दाहाल नै निर्वाचित भएकी थिइन्। उनी पुनः भरतपुरको मेयरमा दोहोरिन चाहन्छिन्।

सत्तारुढ पाँचदलीय गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीले नै भरतपुर महानगरपालिका पाउने भएसँगै गठबन्धनका तर्फबाट पुनः दाहाल नै उम्मेदवार बन्ने निश्चितप्रायः छ। त्यसैगरी भरतपुर महानगरपालिकामा एमालेबाट विजय सुवेदी मेयरमा उठ्ने पक्का भइसकेको छ। शान्त र शालीन नेताका रूपमा चिनिने उनलाई एमालेले मेयरको उम्मेदवार बनाउने भएको हो।

भरतपुरको मेयरमा उठ्ने पक्का भएसँगै सुवेदीले बागमती प्रदेशसभा सदस्य पदबाट बिहीबार राजीनामा समेत दिइसकेका छन्। २०७४ सालमा भएको निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ को २ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी ४ वर्ष ३ महिना प्रदेशसभा सदस्य रहे।

२०७४ सालमा भएको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा १४ जनाले उम्मेदवारी दिएका थिए। दलबाट १२ जना र दुईजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। भरतपुरकी बहालवाला मेयर दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतान्तरले पराजित गरेकी थिइन्।

वैशाख ३० गते हुन लागेको निर्वाचनमा भरतपुरसहित चितवन जिल्लामा दुई दर्जनभन्दा बढी दल चुनावमा होमिन लागेका छन्। तैपनि भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख प्रतिस्पर्धी हुन्। गठबन्धनबाट उम्मेदवार बन्न लागेकी दाहाल र एमालेबाट उम्मेदवार बन्न लागेका सुवेदी को बन्लान् भरतपुरका नयाँ मेयर भन्ने कुरा देशैभर चासोको विषय बनेको छ।​

२०७४ को निर्वाचन हेर्दा

२०७४ सालको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा पनि यही घटनाक्रमले निरन्तरता पाउने भएको छ। फेरि पनि भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावमा होमिने भएको हो।

२०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। भरतपुरका कुल २७ वटा वडामध्ये माओवादी केन्द्रका पक्षमा ३ वटा वडा मात्रै छन्।

भरतपुरका १३, २५ र २६ नम्बरमा माओवादी केन्द्रले वडाध्यक्ष पदमा नतिजा हात पारेको थियो। अन्य २४ वटा वडामध्ये कांग्रेसले १२ र एमालेले १२ वटा वडामा अध्यक्ष पद जितेका थिए। कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्बर वडाका वडाध्यक्ष पद सुरक्षित गरेको थियो। एमालेले २, ४, ५, ७, ९, १०, ११, १२, १६,२२, २३ र २४ नम्बर वडाका वडाध्यक्ष पदमा जितेको थियो।

हाल एमाले विभाजित भइसकेको छ। एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सत्तारुढ गठबन्धनमा सामेल छ। सो पार्टीले भरतपुर महानगरपालिकामा एमालेको कति मत काट्छ भन्ने प्रस्ट छैन।

एमालेलाई राप्रपाको साथ

विभाजित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपा नेपालको साथ पाइसकेको छ भने राप्रपा (प्रजातान्त्रिक) सँगको तालमेलका लागि पनि छलफल जारी राखेको छ। एमालेले पार्टी विभाजनबाट भएको क्षति पुर्दै भरतपुरमा जित हात पार्ने दाउसहित अन्तिम समयसम्म राप्रपासँगको छलफललाई जारी राखेको हो। स्थानीय तहको अघिल्लो निर्वाचनमा चितवनमा राप्रपा (प्रजातान्त्रिक)ले सबैजसो पालिकामा उम्मेदवारी दिएको थियो।

तत्कालीन राप्रपा प्रजातान्त्रिकमा प्रभावशाली भूमिकामा रहेका नेता विक्रम पाण्डे हाल राप्रपामा छन्। पछिल्लो समय कमल थापाको नेतृत्वमा राप्रपाबाट एउटा समूह बाहिरिएर राप्रपा नेपाल गठन गरेको छ। थापा नेतृत्वकै राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्ने भएको हो। यद्यपि चितवनमा राप्रपा नेपालको तुलनामा राप्रपाकै प्रभाव बढी देखिन्छ। त्यसैले पनि एमालेले अन्तिम समयसम्म पनि राप्रपालाई चुनावी तालमेलमा ल्याउने प्रयास गरिरहेको छ।

एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने हालसम्म राप्रपासँगको चुनावी तालमेलको विषयमा सहमति भई नसकेको बताउँछन्। यद्यपि भोलि बिहानसम्म तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा टुंगोमा पुर्‍याइने उनको भनाइ छ।

न्यौपानेका अनुसार राप्रपाले भरतपुरको उपमेयरमा दावी गरेको छ तर एमाले भने राप्रपालाई उपमेयर दिने पक्षमा छैन। भागबण्डाको कुरा नमिल्दा हालसम्म यी दुई पार्टीबीच चुनावी तालमेल हुन नसकेको न्यौपानेको भनाइ छ। उनले राप्रपासँग चुनावी तालमेल गरेर जाने सम्भावना भने बलियो नै रहेको बताउँछन्।

माओवादीलाई कांग्रेसको डर

पाँचदलीय सत्ता गठबन्धनमा रहेको माओवादीलाई गठबन्धनको मुख्य घटक कांग्रेसकै डर छ। चितवन कांग्रेसले कुनै पनि हालतमा भरतपुर आफूहरूले पाउनुपर्ने माग गर्दै आएको थियो। २०७४ सालको निर्वाचनमा पनि भरतपुर माओवादीले नै पाएकाले यो निर्वाचनमा भरतपुर महानगर आफूहरूले पाउनुपर्ने उनीहरूको माग थियो। आफूहरूलाई नदिएर भरतपुर पुनः माओवादीलाई सुम्पिए मत हाल्न नसक्नेसम्मको चेतावनी कांग्रेसले दिएको थियो। यद्यपि भरतपुर महानगरपालिका पुनः माओवादीले पाएको छ।

मंगलबार बसेको गठबन्धन बैठकले भरतपुर माओवादीको भागबण्डामा पारेको हो। भरतपुर महानगरपालिका पुनः माओवादीले पाएपछि भरतपुरका कांग्रेसी दुई पक्षमा विभाजित भएका छन्। एक पक्ष केन्द्रको निर्णयलाई मान्ने बताउँछन् भने अर्को पक्ष केन्द्रको निर्णयलाई स्विकार्नै नसक्ने बताउँछन्। त्यसैले माओवादीलाई सत्ता गठबन्धनको दल कांग्रेसकै डर रहेको देखिन्छ।

कांग्रेसले केन्द्रमा भरतपुर माओवादीलाई दिने निर्णय गरे पनि मत हाल्ने स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट देखिँदा माओवादीलाई केही असर पर्ने समेत देखिन्छ। कांग्रेसबाट मेयर पदका आकांक्षी रहेका चित्रसेन अधिकारीले पार्टीको निर्देशन सबैले मान्नुपर्ने बताउँछन्। उनले पार्टीले दिएको निर्देशन मान्दिनँ भन्न कसैलाई पनि छुट नरहेकाले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने प्रस्ट पारे।

भागबण्डाको विषयमा निर्णय नहुँदासम्मको अवस्थामा कांग्रेसले आन्तरिक संघर्ष गरेर केन्द्रलाई दबाब दिनु उचित भए पनि निर्णय भइसकेपछि त्यसलाई स्वीकार गरेर कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ तर भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाटै आकांक्षी रहेका दिनेश कोइराला भने भरतपुरमा माओवादी केन्द्रले नेतृत्व पाउन र चुनावमा कांग्रेसको समर्थनका लागि षड्यन्त्र गरेको आरोप लगाउँछन्।

उनले भरतपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेर कांग्रेसले कार्यकर्ताहरूलाई घात गर्न नसक्ने बताए। पार्टीका तल्लो समितिले गरेका निर्णयलाई केन्द्रले काट्न नमिल्ने उनको भनाइ छ। गठबन्धनको मुख्य घटक दल कांग्रेस नै दुई ध्रुवमा विभाजित भइरहे पनि माओवादीबाट भरतपुरको मेयरमा उठ्न लागेकी रेनु दाहाल भने गठबन्धनको समर्थनमा नै आफू पुनः मेयरमा निर्वाचित हुने दावी गर्छिन्।

उनी कांग्रेसले आफूले मेयर पाउनुपर्ने भनेर गरेको दावी स्वभाविक भएको भन्दै कांग्रेस गठबन्धनको निर्णयविरुद्ध जान नहुने र नजाने पनि बताइन्। थाहा खबर बाट