अर्की बुहारीका पनि दिन आए !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्की बुहारीलाई पनि मैदानमा उतारेकी छन् । विना मगर मन्त्री भइसकेकी छन् । यसैबीच, प्रचण्डसँग सल्लाहपछि पार्टीले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई उपमेयरमा सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।

उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी पनि हुन्। अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग विवाह गरेका थिए।उनीहरूका एक छोरा पनि छन्। त्रिपाठीपछि प्रकाशले बिना मगरसँग विवाह गरेका थिए।

प्रकाशको मृत्युपछि त्रिपाठी पोखराको राजनीतिमा क्रियाशील छिन्। महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस गरेको छ।

यस्तै,उपमेयरमा प्रदेश कमिटी सदस्यसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी सिफारिस भएका छन्। मेयर र उपमेयरका लागि महानगर कमिटीले सर्वसम्मत नाम सिफारिस गरेको केन्द्रीय सदस्य दीपक कोइरालाले जानकारी दिए।

पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी चलिरहेको छ। कांग्रेसले हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै समाजवादीलाई गठबन्धनबाट बाहिरिएर स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरिसकेको छ।

गठबन्धनमा माओवादी केन्द्रलाई महानगरको उपमेयर दिन कुनै समस्या नभएको कांग्रेसले जनाएको छ। प्रदेश सांसदसमेत रहेका माओवादी नेता कोइरालाले महानगरका विषयमा केन्द्रले निर्णय गर्ने बताए।

यो पनि पढ्नुहोस :-

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसको असन्तुष्टि रोक्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् ।

जिल्लाको अनेक आग्रहका बाबजुद माओवादीले नै मेयर पाएपछि अब असन्तुष्टिका स्वर मत्थर पार्न सभापति राजेश्वर खनाल आफैं अग्रसर भएका छन् । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता कृष्णलाल सापकोटाले मेयरमा बागी उम्मेदवारी दिन कांग्रेस कार्यकर्ताहरूबीच छलफल चलाइरहेका छन् ।

चितवन जिल्ला विकास समितिका पूर्वसभापति तथा कांग्रेसका पहिलो पुस्ताका नेता सापकोटाले यसअघि नै भरतपुर माओवादीलाई दिइए कांग्रेस जोगाउन आफू बागी उम्मेदवार उठ्ने बताइसकेका थिए । नेता सापकोटाले उम्मेदारी दिनेगरी छलफल र भेला गर्न थालेपछि चितवन कांग्रेसका सभापति खनालले गठबन्धनको निर्णय पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

कुराकानी गर्दै खनालले भने ‘केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको छु । अहिले व्यस्त भएर हो विज्ञप्ति पनि निकाल्ने तयारीमा छु ।’

‘गठबन्धनमा भएको सहमतिलाई र समग्र चुनावी प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु’, उनको भनाइ छ ।

चितवनमा गठबन्धन दलहरूबीच पालिकाको भागबण्डा पनि लगभग टुंगिएको छ । सहमतिअनुसार भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले पाएको छ । त्यस्तै राप्ती नगरपालिकाको मेयर नेकपा एसले पाउँदा इच्छाकामना गाउँपालिकासहित कालिका,खैरहनी र रत्ननगरको मेयर कांग्रेसले पाउने भएको छ ।

माओवादी केन्द्रले इच्छाकामना,खैरहनी र कालिका नगरपालिकको उपमेयर पाउँदा नेकपा एसले रत्ननगरको उपमेयर पाउने भएको छ । त्यस्तै कांग्रेसले भरतपुर,माडी र राप्तीको उपमेयर पाउने भएको छ ।