पुष्पा चलचित्रको प्रभाव, विद्यार्थीले परीक्षापत्रमा ‘अपुन लिखेगा नहीँ’ लेखेपछि भए फेल

काठमाडौं। चलचित्र तथा साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ।

चलचित्र–साहित्यमा समेटिएका विषयले मानिसलाई प्रभाव पर्नु स्वभाविक पनि हो किनभने यो आम मानिसका सहजै पुग्नसक्छ।

हालै दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो आम्दानी गर्यो। यो चलचित्रपछि त्यसका अभिनेता अल्लु अर्जुनले पनि राम्रो प्रशंसा पाए।

सो चलचित्र रिलिज भएको चार महिना पुगिसकेको छ। यद्यपी त्यसको प्रभाव भने दर्शकमा अझै पनि जारी छ।

केही समय अगाडि भारतमा एक व्यक्तिले रक्तचन्दन तस्करी गरेका थिए। चलचित्र पुष्पा हेरेकाले आफू तस्करीमा लागेको उनले बताएका थिए।

यतिबेला भारतका एक दश कक्षाका विद्यार्थीले भने परीक्षामा केही नलेखी घर फर्किएको देखिएको छ।

चलचित्र पुष्पामा ज्यादै चर्चित डायलग बनेको थियो ‘अपुन झुँकेगा नहीँ’ भन्ने।

टाइम्स अफ इन्डियाका अनुसार एक किशोरले उत्तर पुस्तिकामा सोही डायलग पछ्याउँदै ‘अपुन लिखेँगा नहीँ’ मात्र लेखिदिएका छन्।

यो घटनाले चलचित्रको नकरात्मक प्रभावलाई दर्शाउँछ। उत्तर पुस्तिकामा उत्तर नलेख्ने ती किशोर फेल भएका छन्।