गठबन्धनले महासंकटमा फसे देउवाः सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन घाडो हुने संकेत देखिन थालेका छन् । कांग्रेस सभापती देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको हो । कांग्रेसको निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको हो। कांग्रेसको असन्तुष्ट समूहले डडेल्धुराका दुई नगरपालिका र ५ गाउँपालिकामा कांग्रेसविरुद्ध ‘बागी’ का रुपमा ‘सेट’ नै तयार गरिरहेको छ।

मल्ल समूहले अमरगढी नगरपालिकामा हरि भट्ट र परशुराम नगरपालिकामा डम्बरसिंह विष्टको नेतृत्वमा ‘बागी’ उम्मेदवारी दिने भएको छ। भट्ट १३ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि र विष्ट पूर्वजिल्ला सदस्य हुन्। मल्ल समूहले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीको नेतृत्वमा विद्रोहको तयारी गरेको छ। उनी पार्टीका निवर्तमान जिल्ला सदस्य तथा भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष हुन्। नवदुर्गा गाउँपालिकामा निवर्तमान जिल्ला सदस्य गोकुल शाही र भागेश्वर गाउँपालिकामा लोकराज भट्ट र नरबहादुर ठकुराठी मध्ये एकको नेतृत्वमा मल्ल समूहले ‘बागी’ उम्मेदवारीको तयारी गरेको छ।

शाही पार्टीका निवर्तमान जिल्ला सदस्य हुन् भने भट्ट जिल्ला सचिवको हैसियतमा काम गरिसकेका नेता हुन्। यस्तै ठकुराठी कांग्रेसको भागेश्वर गाउँ कार्यसमितिको पूर्व सभापति हुन्। अजयमेरु गाउँपालिकामा लोकराज भट्ट, रविन्द्र खड्का र कमला विष्टमध्ये कुनै एकको नेतृत्वमा विद्रोह गरिने असन्तुष्ट समूहले बताएको छ। भट्ट त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० का पूर्वअध्यक्ष र बिष्ट नेपाल महिला संघकी निवर्तमान जिल्ला अध्यक्ष हुन्। आलिताल गाउँपालिकामा धनबहादुर देउवा र तेजबहादुर खड्कामध्ये कुनै एकको नेतृत्वमा आफ्नो समूहले ‘बागी’ उम्मेदवारहरू उठाउने मल्ल समूहका एक नेताले जानकारी दिए।

नवदुर्गा गाउँपालिकाको अध्यक्षका लागि तयारी गरिरहेका शाहीले मल्ल समूह आसन्न निर्वाचनमा ७ पालिकाका ५२ वटै वडामा ‘सेट’सहित उम्मेदवारी दिन तयार रहेको बताए। ‘डडेल्धुराका सात पालिका र ५२ वडामा सत्ता गठबन्धनविरुद्ध हामी पालिका प्रमुखदेखि वडा सदस्यसम्म बागी नै उठ्छौँ,’ उनले नेपालखबरसँग भने। देउवाको मतदाता नामावली रहेको पालिका गन्यापधुरामा अध्यक्षका लागि चुनावी प्रचार गरिरहेका मालीले पनि मल्ल समूहले सात पालिका र ५२ वडामा उम्मेदवारी दिने बताए। ‘हाम्रा केही माग छन्। ती सम्बोधन हुने सम्भावना अब देखिँदैन। माग सम्बोधन भएन भने हामी वैकल्पिक बाटो अपनाउन तयार छौँ,’ उनले भने, ‘७ पालिकामा प्रमुख–उपप्रमुख गरी १४ र ५२ वडामा ५–५ सदस्य गरेर २६० उम्मेदवार उठ्छौँ।’ सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका डडेल्धुराका निवर्तमान जिल्ला सभापति मल्लले पनि आफूहरु सात पालिका र ५२ वडामा सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिने तयारीमा रहेको स्वीकार गरे।