कम्युनिष्टलाई फेरि एकीकृत हुन नदिन केहीलाई साथमा लिएका हौं : गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन्। नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा महामन्त्री थापाले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए।

‘म लगायत केही साथीहरूको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला। तर, नेपाली काँग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो,’ उनले भने। पार्टीका अन्य नेताहरूले भने काँग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्ट पार्टीहरूका कारणले तालमेल गर्नुपर्ने बताएको थापाको भनाइ छ।

उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह पनि गरे। ‘पार्टीले अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भनेर निर्णय गरेको छ, त्यो भनेको तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने भन्ने हो। यसको निर्णय केन्द्रीय सभापति वा केन्द्रीय समितिले गर्ने होइन, तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ,’ उनले भने।

महामन्त्री थापाले गठबन्धन गरेर चुनाव लड्ने तयारी गर्दा पार्टी पंक्ति र मतदाताको धारणालाई केन्द्रमा राख्न आग्रह गरे। ‘हाम्रा पुराना मतदाताको संख्या एउटा छ, अहिले त्यतिकै संख्यामा नयाँ मतदाता थपिनुभएको छ। हामीले नयाँ पुराना मतदाताको साथलाई जोगाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘तर तपाईंहरूले ध्यान दिनुपर्ने कुरा के हो भने भुँइको टिप्न खोज्दा पोल्टामा नपोखियोस्। पार्टीमा छलफल र संवाद गरेर अघि बढ्नुहोला।’

महामन्त्री थापाले काँग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि तालमेल गर्ने नाउँमा कम्युनिष्टहरू फेरि नाटकीय एकता गर्न सक्ने भएकाले त्यस्तो हुन नदिनका लागि समेत काँग्रेसले केही पार्टीहरूलाई साथै लिएर अघि बढेको बताए।‘नेपालका कम्युनिष्टहरू चुनावमा एक्लै लड्ने होइन, चुनावी तालमेल र उस्तै परे एकता नै गर्न पनि पछि पर्दैनन्,’ उनले भने, ‘त्यसैले त्यो कुरा तोड्नका लागि भएपनि तालमेल गर्नुपर्छ भनेर हामी यो निष्कर्षमा पुगेका हौं।’