कांग्रेसको हातबाट फुत्कियो भरतपुर, देउवाले निर्णय नै सुनाइदिएपछि खुमलटारमा छायो खुसीयाली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् ।

पार्टीका स्थानीयस्तरका नेता÷कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । ‘यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘६ महानगरपालिकामध्ये यसअघि जितेका ललितपुर र विराटनगर कांग्रेसले पाउँछ भने वीरगन्ज जसपाले लिन्छ । एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी छ ।’ सम्भवतः काठमाडौंमा कांग्रेस र पोखरा महानगरपालिकामा एकीकृत समाजवादी वा माओवादीमध्ये एकले नेतृत्व पाउनेछन् ।’

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाका अनुसार आलोपालो गर्नुपर्ने गठबन्धनको चरित्र र राजनीतिक शक्तिका आधारमा पनि यसपटक कांग्रेसले मेयर पाउनुपर्ने ‘बटमलाइन’ स्थानीय तहमा कांग्रेसले अघि सारेको बताए ।

चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

यसैबीच स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्न लागेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।

उनले भने, ‘गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए । उनले भने, ‘कुन तहबाट कसरी एक–आपसमा एकता गर्ने भन्नेबारे मंगलबार बैठकमा एउटा मापदण्ड बनाउछौं ।’