रेणु र रेणुका बा को गयो सातो, काँग्रेसले उठाउने भयो बागी

काठमाडौं । स्थानिय चुनाव नजिकिदैछ । चुनावी तालमेलको निर्णय गरेको सत्तागठबन्धनभित्र टिकटको कुरा नमिल्दा संकट गहिरिदैछ । सबैले प्रतिक्षाका साथ हेरिरहेको भरतपुर महानगरपालिकाको टिकटको बिषयलाई लिइरहेको रडाको मच्चिने संकेत देखिन थालेका छन् ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी केन्द्रलाई समर्थन नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई चर्को दवाव परेको छ । ०७४ को निर्वाचनमा कांग्रेसले माओवादीलाई लगाएको गुन यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरूको तर्क छ ।

यसैक्रममा पार्टी सभापति समेत रहेका शेरवहादुर देउवाले चितवन नेता÷कार्यकर्ताको भावना विपरित निर्णय गरे ‘वागी’ उठ्ने चेतावनी पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले दिएका छन्। पार्टीभित्र विद्रोही नेताको पहिचान वनाएका सापकोटाले केन्द्रले माओवादीलाई मेयरमा समर्थन गरे जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने अभिव्यक्ति दिए । उनले भने, ‘युवाहरू विद्रोह गर, पार्टी बचाउनुपर्छ। यदि तिमीहरू सक्दैनौं भने म मैदानमा उत्रिन्छु, साथ देउ ।’

कांग्रेस र कम्युनिष्टको विचार, कार्यक्रम र नीति नै अलग–अलग भएकोले माओवादीसँग गठबन्धन गर्न नहुने उनको तर्क छ । गत चुनावमा पनि माओवादी र रेनुलाई मत माग्न उनी कतै नहिडेको बताउँछन्।

२÷४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको उनले आरोप लगाए । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गरे आफूले मेयरमा उम्मेदवारी दिने उनको भनाई छ। उनले आफनै उम्मेदवार हुँदा भरतपुरमा कांग्रेलाई कसैले हराउन नसक्ने दावी पनि गरे। भरतपुरका २९ वटा मध्ये १२ वडामा अहिले पनि कांग्रेसका अध्यक्ष छन्। २९ वडा मध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र ३ वडामा मात्रै माओवादीले जितेको छ ।

२०७४ सालमा खसेको मतलाई विश्लेषण गर्दा प्रमुख पदमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसबाट उपप्रमुख बनेर विजयी पार्वती शाह ठकुरीले ४७ हजार १९७ प्राप्त गरेकी थिइन्। जबकि, कांग्रेसले समर्थन गरेर विजयी भएकी माओवादी उम्मेदवार दाहालले प्रमुखमा ४३ हजार १२७ मत ल्याएकी थिइन्। ठकुरीलाई प्राप्त भएअनुसारकै मत दाहालले नपाउनुले कांग्रेसका मतदाताका सबै भोट मेयरलाई गएको देखिन्न।

मेयरमा पराजित एमालेका उम्मेदवार ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। दाहालले झिनो अन्तरले जित निकालेकी थिइन्। प्रमुखका दुई उम्मेदवार बीचको अन्तरमात्रै २०३ थियो। एमाले विभाजनपश्चात् कांग्रेस चितवनमा सर्वाधिक बलियो रहेको बुझाइ छ। तालमेल गर्दा पनि भरतपुरमा जित निकाल्न अन्यलाई भन्दा कांग्रेसलाई सहज छ। त्यसैले पनि भरतपुरमा कांग्रेसको दावी स्वभाविक हुने सापकोटा वताउँछन्।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।