भ्यूटावरहरु सभ्यता र विकासका केन्द्र हुन् : ओली

२० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरुको सभ्यता र विकासको केन्द्र भएको दावी गरेका छन् । कतिपयले भ्यूटावरको विरोध गरेको भन्दै उनले भ्यूटावर स्वदेशी र विदेशका पर्यटक आकर्षित गर्ने उपयुक्त स्थल भएको दावी गरे ।

मलेसियाका प्रधानमन्त्री महाथिरले ट्वीन टावर बनाउँदा उनलाई पागल भनेको भन्दै ओलीले अहिले ती ट्वीन टावर मलेसियाको पहिचान बनेको बताए । अमेरिकाको ट्वीन टावर बनाउँदा पनि कतिपयले अनावश्यक भनेको भन्दै उनले त्यस्ता स्थल सभ्यता, विकास र आर्थिक कृयाकपलापको केन्द्र भएको दावी गरे ।

आइतबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्यूटावरहरु आवश्यक नभएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले भ्यूटावर बनाउँदैनौं भनेर घोषणापत्रमा नै लेख्नुपर्ने बताएका थिए । त्यसपछि टिप्पणी गर्दै ओलीले भने, ‘उहाँको पार्टीले त विकास निर्माण नगर्ने प्रतिज्ञा नै गरेको छ नि ।’