काँग्रेसको शासन राणा र पञ्चायतभन्दा कम छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको ओलीको भनाइ छ । शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भीमदत्त पन्तको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

‘डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम । अलिक भन्न राम्रो लाग्दैन तर यो सव नेपाली काँग्रेसले गराएको थियो’, ओलीले भने, ‘भारतीय सेना नेपालभित्र बोलाएर, नेपालको आन्दोलन र भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली काँग्रेसले कटाएको थियो ।’ उनले यसो भन्न मजा नलागेपनि नेपाली काँग्रेस त्यस्तै रहेको बताए । उनले विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गोली चलेर हत्या भएको भन्दै अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर गएका बेला केही नभन्ने तर फर्केपछि नै कुरा गर्ने बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले २००७ सालमा लोकतन्त्र आएको र ८ सालमा मोहनशमशेर हटेर मात्रिका कोइराला प्रधानमन्त्री भएपछि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको बताए । काँग्रेसले बुझेको लोकतन्त्र नै त्यस्तै रहेको भन्दै काँग्रेस सरकारमा रहँदासम्म कम्युनिस्टमाथि प्रतिवन्ध लगाउने गरेको भन्दै पञ्चायत र राणाशासन भन्दा काँग्रेस शासन कम नरहेको बताए ।