कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन्। शुक्रबार अनेरास्ववियुको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाएका हुन्।

तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायत सहिदहरूको हत्या गरेको उनको जिकिर थियो। उनले भनेका छन्, ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो। कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो। भन्दा नराम्रो लाग्छ। यो सब नेपाली कांग्रेसले गराएको थियो। तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो।’

ओलीले २००८ मा चिनियाँ काजीको हत्या हुँदा देशमा कांग्रेसले महामानव भन्ने विश्वेश्वर कोइराला गृहमन्त्री रहेको बताए। उनले कांग्रेस सधैँ प्रतिगामी बाटोमा हिँडेको पनि बताए। ‘कांग्रेसलाई राम्रा कामका लागि राम्रा मान्छेसँग मिल्न गारो छ। राम्रो कामका लागि अँचेटेर ल्यायो फेरि उम्कि हाल्छ,’ उनले भने, ‘२००८ साल कात्तिक २० गते चीनकाजी श्रेष्ठको गोली हानी हत्या हुँदा बिपी कोइराला प्रधानमन्त्री थिए। अहिले शेरबहादुर देउवा छन्। देश बाहिर गइरहेका बेला म केही पनि भन्दिनँ। यहाँ नभएका बेला लखेट्यो भन्छन् फेरि।’