देउवा सरकार चुनावअघि नै ढल्छ, दिनगन्ती सुरु भइसक्यो : केपी ओली

जुम्ला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार धेरै दिन नचल्ने बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती सुरु भइसकेको बताए। जुम्लामा बिहीबार आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकार चुनावसम्म पनि नटिक्ने दाबी गरे।

‘यो म्यादी सरकार हो। दिनगन्ती सुरु भइसकेको छ। यो सरकार चुनावसम्म पनि जानेवाला छैन,’ ओलीले भने। एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको उनको जिकिर छ। उनले भने, ‘अहिलेको सरकार जनतालाई ढाँट्ने र छक्याउने खेलमा देखिएको छ। यिनीहरूको कुनै पार्टीको ठेगान छैन। यो सरकार चाँडै ढल्नेवाला छ। जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुनेछैन।’

आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उनले आग्रह गरे। ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए। ‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ उनले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ। जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ।’