नेपालको फोहोरी राजनीतिलाई फाल्न केजरीवालको खोजी

काठमाडौँ उपत्यकाको वरिपरि काँठक्षेत्रमा सानोतिनो विवाद र झैझगडाले पनि समय नटुंगिँदै उग्र रूप लिन्छ। गालीगलोजमा प्रयोग हुने झर्रा शब्दहरूकेही बाँकी रहँदैनन्। आरोप/प्रत्यारोप शिखरकै हुन्छ। र, कसैले मध्यस्थता गर्ने प्रयत्न गर्‍यो भने झगडियाहरू भनिहाल्छन्– यसलाई मरिगए पनि छाड्दिन ! कि त्यो छैन, कि म छैन! नेकपा त्यसैगरी फुट्यो। पार्टीहरू फुट र विवादको उत्कर्षमा पुगे। एउटा नेकपाबाट तीनवटा पार्टी बने पनि सिंगो पार्टी चाहिँ एमाले नै छ। नेकपाको विरासत उसैले बोकेको छ। नेकपा तीन टुक्रा भए पनि एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न कांग्रेस हिच्किचाइरहेको छ।

मंगलबार यो आलेख तयार गर्दैगर्दा कांग्रेस स्थानीय चुनावमा पनि नेकपाबाट चोइटिएका माओवादी केन्द्र र समाजवादीसँग गठबन्धनीय तालमेल गर्ने निर्णयको नजिकै पुगेको छ। कांग्रेसीहरू एक्लै निर्वाचन लड्ने र आफ्नै कांग्रेसीहरूलाई परिचालन गर्ने भन्दै महामन्त्री र पदाधिकारीहरू लाग्दा पनि प्रचण्ड र माधव नेपालको रोदनका कारण पार्टी सभापति शेरबहादुर देउवा गठबन्धन भन्न विवश भैरहेछन्। गठबन्धन गरिएन भने एमालेले निर्वाचन बढार्छ भन्दै उनी गठबन्धनको औचित्य पुष्टि गर्न खोज्दैछन्।

उता एमाले भने देशभरि जनलहरको उभार बढाइरहेको छ। जतिजति चुनाव नजिक हुँदैछ, पार्टी प्रवेशको बाढी नै बगिरहेको छ। देशको सबैभन्दा ठूलो पार्टी एमाले हो र जनताको समर्थन हामीलाई छ भन्ने आत्मविश्वासले लहर ल्याउन सफल भएका हुन्। एमाले जनसभामा जनताको उर्लँदो सहभागिताले त्यतैतिर इंगित गरिरहेको देखिँदैछ।

यो लहरले के कुरा जबर्जस्त स्थापित गरिरहेको छ भने जनमत दुई दलीय धु्रवमा आकर्षित भैरहेको छ। एउटा ध्रुव एमाले र अर्को ध्रुव कांग्रेस। संभवतः यो निर्वाचनको परिणमले एउटाको विकल्प अर्को भन्ने कुरा स्थापित हुनेछ। बचेखुचेका भुरे टुक्रेहरू एलाइन्स वा गठबन्धन जुनसुकै नाममा भए पनि यी दुवैतिर बाँडिने हुन्। जनमतको परिणाम हेर्न भने बाँकी नै छ।

यस्तो अवस्थामा वैशाख ३० गते हुने स्थानीय निकाय निर्वाचनका अजेन्डा के हुनसक्छन् ? सत्तापक्ष नेपाली कांग्रेस के/कस्ता मुद्दा लिएर चुनावमा जाँदैछ? प्रमुख प्रतिपक्ष तथा देशको ठूलो दल के कुरामा जोड दिएर चुनावमा उत्रिँदैछ? अरू दलले कुन मुद्दा उठाउन खोजिरहेका छन्? चुनावी प्रतिस्पर्धाको सिंगो घोडदौडमा को कहाँ छ? को धेरै अगाडि, को मध्यम र को धेरै पछाडि छन्?

आलेखको शीर्षकमै भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको नाम छ। उनको नाम राख्नुको कारण के भने यी यस्ता चुनावी रणनीतिवाज हुन् जसले भारतका ख्यातिप्राप्त दलहरू र खारिएका नेताहरूलाई चुनावमा धुलो चटाइदिए। कुनै चर्चामा नरहेका तर बदनामीको कुनै दाग नलागेकाआमआदमी पार्टीका उम्मेदवारहरूमार्फत केजरीवालले भर्खरै सम्पन्न पन्जाब राज्यको निर्वाचनमा दुईतिहाइ भन्दा बढी जीत हासिल गरेर सरकार बनाउने सफलता पाए। दिल्लीको ख्यातिबाट प्रभावित भएर पन्जावका जनताले अमूल्य मत केजरीवालका उम्मेदवारहरूको पक्षमा ओइर्‍याइदिए।

केजरीवाल भारतको प्रदेशस्तरको एउटा सानो क्षेत्र नयाँदिल्लीका मुख्यमन्त्री मात्र हुन्। यद्यपि, दिल्लीको जनसंख्या नेपालको जत्ति नै छ। तर पन्जाव धेरै ठूलो राज्य हो। त्यति हुँदा पनि केजरीवाल राज्यस्तरका नेता हुन् तर नेपाल सिंगो राष्ट्र हो। केजरीवाल मुख्यमन्त्री हुन् तर केपी शर्माओली देशको दुईदुईपल्ट कार्यकारी प्रधानमन्त्री बनेका ब्यक्ति हुन्। यी दुईको तुलना गरेकोबारे प्रश्न उठ्नसक्छ तर पनि तुलना किन गरिएको हो भने देशको वास्तविकता बुझेको र परिवर्तनको सपना देख्ने, आँट र साहस भएको व्यक्ति नेपाली राजनीतिमा केपीओली नै हुन्।