भीम रावलमाथी जे पनि हुनसक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर आफूलाई धोखा दिई एमालेमै बसेका नेताहरू अवसरवादी र ओलीका दास भन्दै उनीहरू कुनै पनि बेला कुटिन सक्ने टिप्पणी गरेका छन् ।

नेकपा एस निकट युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गदै अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेर १० बुँदेका नाममा एमालेमा बसेका भीम रावलहरू निरीह रहेको र उनीहरूलाई फरक मत राख्न समेत अधिकार नरहेको बताए ।

उनीहरूको सहारा र सल्लाहमा ओलीविरुद्ध लडाइँ लडेकोमा उनीहरूले अन्तिममा धोखा दिएको नेपालले बताए । नेपालले केपी ओलीले पार्टीभित्र पहिले देखिनै गुन्डा र साइबर स्यालहरूको जमात तयार पारेकाले त्यहाँभित्र फरक मत राख्नेहरूलाई कुनै पनि बेला हातपात हुन सक्ने बताए ।

अध्यक्ष नेपालले केपी ओली अझै पनि राजावादीहरूसँगको षड्यन्त्रमा रहेको बताउँदै पाँच दलीय गठबन्धन तीनै तहको चुनावमा हुने बताए । उनले युवा संघलाई गाउँ तहदेखि नै चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।