भ्यू टावर : पर्यटन आकर्षण कि सरकारको पैसा सक्काउने बाटो ? मोरङमा तीन पालिकामा पाँच वटा

मोरङ — मोरङको केराबारी, मिक्लाजुङ गाउँपालिका र बेलबारी नगरपालिका गरी तीन पालिकामा पाँचवटा भ्यू टावर निर्माणको योजना ल्याइएको छ । जसमध्ये केराबारीमा मत्रै दुई वटा भ्यू टावर निर्माण सकिएको छ भने अन्य तीन वटामा निर्माणाधीन छ ।

केराबारी गाउँपालिकाको वडा २ जेफालेमा तत्कालीन जिल्ला विकास समितिदेखि स्थानीय तहसम्मले १ करोड लगानी गरेर निर्माण पूरा गरेका छन् । उक्त गाउँपालिकाको वडा १ स्थित पाटीगाउँको थानडाँडामा ५० लाखको लागतमा भ्यू टावर निर्माण भएको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताए । उनका अनुसार वडा ४ मा तोपथुंकी भ्यू टावर ७० करोडको लागतमा निर्माण सुरु गरिएको हो ।

यस्तै, बेलबारी नगरपालिका २ रमितेस्थित रमिते डाँडामा बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षदेखि रमिते भ्यू टावर निर्माण भइरहेको छ । हालसम्ममा गाउँपालिकाले ८० लाख र संघीय सांसद भानुभक्त ढकालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट लगानी गरेर १ करोड २० लाख खर्च भइसकेको छ ।

रमिते सामुदायिक वनमा निर्माण भइरहेको भ्यू टावरको काम हालसम्ममा ५० प्रतिशत मात्रै सकिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम राईले बताए ।

जिल्लाका अर्थ विशेषज्ञ प्रा डा. बेदराज आचार्य पर्यटन क्षेत्रको विकासका नाममा अनुत्पादक क्षेत्रका भ्यू टावर निर्माण योजनामा भइरहेको लगानी तत्काल रोकेर उत्पादन र उत्पादकत्व बढाउने योजनामा लगानी बढाउनु पर्ने बताउँछन् । ‘संघीय अनुदानमा चलेको स्थानीय सरकारले आत्मनिर्भर बन्नका लागि उत्पान र उत्पादकत्व वृद्धि हुने योजनामा लगानी बढाउनु पर्छ,’ उनले भने, ‘अहिले बनेका भ्यू टावरमा चढेर जनताको दुःख बाहेक अन्य केही हेर्न सकिँदैन ।’