‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ ‘- ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए ।

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले भने, ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए । ‘एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयन नै हुने होला । सबै दल मिलेर आए पनि हुन्छ ।’

निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उनले भने, ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’