प्रसाईले दिए खुल्ला चुनौती, माओवादी केन्द्र र एसले एक सिट जिते पसाईले यस्तो गर्ने ?

काठमाडौं :

मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरेका हुन् ।

उनले भने, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ ।

दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको आज उद्घाटन गर्दै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् ।

तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसार्इंले बताएका छन् ।