कैलालीमा भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको अभियोगमा धरौटीमा रिहा भएका तिन जना फेरि अदालतको आदेशपछि पक्राउ

काठमाडौं ८ चैत । अदालतको आदेशमा धरौटीमा रिहा भए तिन जनालाई फेरि प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा गत कात्तिक २३ गते धारिलो हतियार प्रहारबाट भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको अभियोगमा धरौटीमा रिहा भएका बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँरलाई पक्राउ गरिएको हो ।

उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुसार उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य नौ जनालाई भने उति बेलै कारागार चलान गरिएको थियो ।

कैलाली प्रहरीले बडुवालको हत्या गरेको अभियोगमा २१ जना विरुद्ध मुद्धा चलाएको थियो । अन्य आठ जना भने अहिले सम्म पनि फरार रहेका छन् ।