पार्टी छाड्ने जनप्रतिनिधिले जनतालाई ढोगेर माफी माग्नुपर्छ: नेम्बाङ

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी चोइट्याएर गएका नेताहरू अहिले निर्वाचनको नाम सुन्नेबित्तिकै तर्सिन थालेको टिप्पणी गरेका छन् । उनले एमालेलाई अबको निर्वाचनमा मतदाताले पहिलो दल बनाउने ठोकुवा गरे ।

इलाम क्षेत्र नम्बर १ मा आयोजित एमालेको आमसभामा नेम्बाङले यही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको आलोचनामा धेरै समय बिताए । तर, उनले खनालको नाम लिएनन् । ‘यहाँका जनताको मत लिएर माथि पुगेपछि अन्तरे–जन्तरे (झलनाथ दाजुभाइमा जन्तरे हुन्) हरूले अब जनतासँग ३ पटक ढोगेर माफी माग्नुपर्छ,’ उनले भने, ‘गल्ती गरें भनेर नमस्कार गर्दै माफी माग्नुपर्छ ।’

खनाललगायतले एमालेबाट चुनाव जितेर पार्टी र मतदातालाई धोका दिँदै विपक्षीलाई सत्तामा पु¥याएको नेम्बाङले बताए । ‘एमाले र मतदातालाई धोका दिएर परमादेशी सरकार बनाउन उहाँहरूले सहयोग गर्नुभएको छ,’ नेम्बाङले मतदातालाई भने, ‘तपाइँहरूको मतले जितेर गएकाहरू अहिले चुनाव आएपछि तर्सिन थाल्नुभएको छ ।’

केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा काम पनि खनालले राम्रो भन्न नसकेको नेम्बाङको भनाइ थियो । ‘आफ्नै सरकारले गरेका राम्रा कामलाई राम्रो भन्न नसकेर धरहरा, रानीपोखरी इन्जिनियरले बनाए भन्नसम्म भ्याए,’ नेम्बाङले खनालको पुरानो अभिव्यक्तिमा टिप्पणी गरे, ‘त्यतिले मात्र भएन, एमालेकै बाकस खाली गर्ने कुरासम्म कसरी गर्न सकिन्छ होला ।’