अन्ततः नायिका प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा

काठमाडौं :

प्रहरीले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ।

डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’को अवैध कारोबारको प्रचार गरेको आरोपमा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको जनाएको छ। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले कार्कीलाई सोधपुछको लागि बोलाइएको पुष्टि गरे।

‘आज हामीले उहाँलाई बोलाएर सोधपुछ गरिरहेका छौँ। समाजिक सञ्जालहरूमा क्रिप्टो करेन्सीमा लगानी गर्न उक्साउने खालको पोष्ट देखिएपछि हामीले अनुसन्धानका लागि बोलाएका हौँ’, महतोले भने।

नेपाल राष्ट्रबैंकले गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाइसकेको छ। राष्ट्रबैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझालाई फसाउने कार्य बढेको भन्दै संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसअघि चैत १ गते १० करोडको क्रिप्टो करेन्सी किनबेचको आरोपमा दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।

यसै क्रममा केहीबेर अघि प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्।

‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’ कार्कीले भनिन् ।