गर्मी बढ्यो, शरीरलाई शीतल राख्न यी कुरामा ध्यान दिनुस्

काठमाडौँ । चैत महिना लागेसँगै गर्मी पनि बढ्दै गएको छ । गर्मीमा विभिन्न किसीमका रोगहरु लाग्ने गर्छन् । हामीले अनुभव गरेकै छौँ, गर्मी बढेसँगै पखाला लाग्छ, खानेकुरा पच्दैन, फुड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको सङ्क्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन ।

यद्यपि यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफूलाई तयार राख्न नसकेका मात्र हौँ । गर्मी–जाडो प्राकृतिक चक्र हो । यो वर्षौँदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफूलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।

यो बेला कहाँ शीतल होला, के खाँदा शीतल होला भन्ने पिरलो सबैलाई हुन्छ । त्यसैले गर्मीका बेला ती खाने कुरामा ध्यान दिनोस्:

गर्मीमा पसिना बढी आउँछ । त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ । पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ ।

पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन् । पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागती पानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ ।

गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ ।

गर्मीमा चिसो पानी प्रशस्त खाने गर्नाले पाचन प्रणालीमा सुधार आउँछ भने शरीर शीतल हुन्छ ।

जाँगर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ । यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ ।

गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुहोस् । यस्तो हलुका खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी हुन दिँदैन ।

गर्मीमा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । यसो गर्दा वजन बढ्दैन । साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छ ।

व्यायाम गर्ने बानी छैन भने बिहान-बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ ।
रातको खाना खाएपछि १५-२० मिनेट टहल्नु लाभदायक हुन्छ । जाडोमा भन्दा गर्मीमा बाहिर हिँड्न सहज हुन्छ र शीतल पनि हुन्छ ।
–एजेन्सीको सहयोगमा